काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी हुनुभएको छ । बुधबार बिहान साढे २ बजे सकिएको मतगणनाअनुसार देउवा दोस्रो कार्यकालका लागि कांग्रेस सभापतिमा विजयी हुनुभएको हो ।
देउवाले प्रतिस्पर्धी शेखर कोइरालालाई ८७८ मत अन्तरले पराजित गर्नुभएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । कूल खसेको ४६२३ मतमध्ये देउवाले २७३३ मत प्राप्त गनुृभयो भने कोइरालाको १८५५ मत आयो । ३५ मत बदर भएको छ।
कांग्रेस सभापतिका लागि दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा भएको थियो । काठमाडौंको राष्ट्रिय सभागृहमा मतगणना भएको हो ।
पहिलो चरणमा सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुङ उम्मेदवार थिए ।
कूल मतको ५१ प्रतिशत मत कसैले ल्याउन नसकेपछि मंगलबार पुनः मतदान भएको हो । पहिलो चरणमा ४६८१ मत खसेको थियो ।
कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्न राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतदान गरिएको थियो ।
सभापतिबाहेक अन्य पदाधिकारी र सदस्यहरुको मत गन्न बाँकी छ।