कृष्ण केसी, नारायणगढ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा चितवन जिल्ला अध्यक्ष डम्मर पुरी गिरफ्तार हुनुभएको छ ।
एम.सी.सी. को विरोधमा चितवन बन्द कार्यक्रम सफल पार्न जुटिरहेका बेला उहाँहरूलाई २०७८ मङ्सिर २८ गते बिहान ८ बजेतिर पुल्चोक बजारबाट गिरफ्तार गरिएको हो ।
पुरीसँगै नेकपा (क्रान्तिकारी माओवादी) का घनानन्द (विकास) सापकोटा, नेकपा विप्लव पक्षका सन्देश पौडेल र अशोक शर्मा, ऋषि कट्टेल नेतृत्वको नेकपाका बद्रिनाथ अधिकारी, प्रकाश ढकालसहित १० जनालाई पनि प्रहरी गिरफ्तार गरी अस्पताल रोडस्थित जिल्ला प्रहरी कार्यालय पुर्याएको छ ।
‘प्रहरीले हामीलाई नाम, ठेगाना र सङ्गठनको नाम जस्ता जानकारी मागेको छ’ पुरीले युगदर्शनसित भन्नुभयो– ‘हामीलाई सञ्चारसँग विच्छेद गर्न प्रहरीले मोबाइल पनि मागेको थियो तर हामीले दिएनौँ ।’
एम.सी.सी. को विरुद्धमा लामो समयदेखि विभिन्न आन्दोलन सञ्चालन गर्दै आएको एम.सी.सी. खारेजी अभियान संयुक्त सङ्घर्ष समितिले मङ्सिर २८ गते चितवन बन्दको कार्यक्रम आयोजना गरेको थियो ।
आजै सरकारले हिउँदे अधिवेशनको सन्दर्भमा एम.सी.सी. प्रस्तुत गरी पारित गर्ने सन्दर्भमा त्यसका विरुद्ध देशव्यापी कार्यक्रम सञ्चालन भइरहेको छ ।
