बागलुङ बजार । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–४ रिखुवामा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण भेला सम्पन्न भएको छ । राजमो केन्द्रीय सदस्य गौरीश्वर पाण्डेको प्रमुख आतिथ्यतामा २०७८ मङ्सिर २४ गते सो कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा मन्तव्य राख्दै राजमो नेता पाण्डेले सङ्गठन परिचालन, राष्ट्रिय जनमोर्चाको धारणा, विभिन्न राजनीतिक घटनाक्रमप्रतिको दृष्टिकोण, सङ्घीयता र एमसिसी विरुद्धको सङ्घर्ष तथा राजावादी र एमालेको प्रतिक्रियावादी नीति तथा कार्यक्रमको बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य धनबहादुर कुँवर, राजमो जिल्ला सदस्य तथा ढोरपाटन नगरपालिका–७ का वडाध्यक्ष दीपक थापा र रक्तिम सांस्कृतिक अभियान बागलुङका सचिव सहविन अर्गेजाले मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा अखिल (छैठौं) बागलुङका सचिव विवश छन्त्याल, जातीय समता समाज ढोरपाटन नगर समितिका सदस्य ललित गोतामे, अखिल नेपाल शिक्षक सङ्घ ढोरपाटन नगर समितिका सचिव जीवन बुढाथोकी र राजमो ढोरपाटन–४ टोल समितिका अध्यक्ष गौरीप्रसाद अर्गेजाको पनि आतिथ्यता रहेको थियो ।
राजमो ढोरपाटन–४ का अध्यक्ष खड्कबहादुर कुँवरको अध्यक्षता तथा रामबहादुर अर्गेजाको स्वागत मन्तव्यका साथ अघि बढेको सो कार्यक्रमको सञ्चालन कुलबहादुर छन्त्यालले गर्नुभएको थियो ।
