काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै एक महिला २३ दिनदेखि आमरण अनशनमा बसेकी छन् ।
एमसीसी खारेजीसहित विभिन्न पाँच बुँदे माग राखेर गएको कात्तिक ३० गतेदेखि तारा बराल आमरण अनशनमा बस्नुभएको हो ।
बरालले एमसीसी खारेज गर्नुपर्ने, संघीयताको खारेजी, सर्वोच्च अदालत सुचारु हुनुपर्ने, सर्वोच्च अदालत अगाडि महिलाहरुमाथि कुटपिट गर्ने वकिललाई कारबाही गर्नुपर्ने, नागरिकता विधेयक खारेज गर्नुपर्ने जस्ता मागहरु अगाडि सार्नुभएको छ ।
सर्वोच्च अदालतमा न्यायाधीशहरुको हडताल र वकिलको आन्दोलन जारी रहेको अवस्थामा बरालसहितका युवाहरुको समूहले अदालत सुचारु गर्न माग गर्दै गरेको प्रदर्शनका क्रममा केही व्यक्ति घाइते भएका थिए । हाल सर्वोच्चको कामकारबाही अघि बढिसकेको छ ।
२३ दिनदेखि आमरण अनशनमा बसेकी बरालको स्वास्थ्य अवस्था बिग्रिँदै गएको भन्दै युवाहरुले बरालको जीवन रक्षाको माग गरेका छन् । हाल उहाँको वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।