काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचनमा निर्मल निवासले हस्तक्षेप गरेको आरोप लागेका बेला पूर्वराजपरिवारले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई दिएको छ ।
पूर्वयुवराज्ञी हिमानी शाहले आइतबार ट्विट गर्दै अध्यक्ष लिङ्देनलाई बधाई दिनुभएको हो । राजेन्द्र लिङ्देनलाई सच्चा राष्ट्रवादी नेता भन्दै हिमानीले बधाई दिनुभएको हो ।
‘अवसरवाद, नातावाद, कृपावादको अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रवादी नेता राजेन्द्र लिङ्देनलाई हार्दिक बधाई तथा सफल कार्यकालको सुभकामना’ ट्विटमा उल्लेख छ, ‘राजेन्द्र लिङ्देनको जितसँगै मुलुकले आज सच्चा राष्ट्रवादी नेता पाउन सफल भएको छ।’
अवसरबाद, नाताबाद, कृपाबाद को अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रबादी नेता राजेन्द्र लिङ्देन लाई हार्दिक बधाई तथा सफल कार्यकाल को सुभकामना!!! राजेन्द्र लिङ्देन को जित सङ्गै मुलुकले मुलुक ले आज सच्चा राष्ट्रबादी नेता पाउन सफल भएको छ!!! pic.twitter.com/9qq7LcPV0Z
— Himani Shah (@HimaniSh123) December 5, 2021
यसअघि आइतबार नै अध्यक्षमा पराजित कमल थापाले राप्रपाको महाधिवेशनमा निर्मल निवासले नाङ्गो हस्तक्षेप गरेको आरोप लगाउनुभएको थियो ।
पूर्वराजाकै कारण पार्टी अध्यक्षमा थापाले हारेको भन्दै सो समूहले अब ज्ञानेन्द्र शाहलाई बोकेर नहिँड्ने जनाएको छ । आइतबार बिहान याक एण्ड यतीमा बसेको कमल थापा समूहको बैठकले राजसंस्था र हिन्दु राज्यको एजेण्डा बोके पनि पूर्वराजा शाहलाई नबोक्ने निष्कर्ष निकालेको हो ।
यो पनिः राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएपछि कमल थापाद्वारा ‘निर्मल निवास’ प्रति कटाक्ष