काठमाडौं । विश्वविद्यालयलाई भर्तीकेन्द्र बनाएको भन्दै विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालयको गेटमा कालो ब्यानर टाँगेका छन् । करारका अध्यापकलाई स्थायी गर्ने त्रिविको निर्णयविरुद्ध आन्दोलनरत ६विद्यार्थी संगठनले शुक्रबार कालो ब्यानर टाँगेका हुन् ।
मंसिर १४ गते त्रिवि शभाले ४८० करार उपप्राध्यापकलाई स्थायी गर्ने निर्णय गरेकोले त्यो निर्णय सच्याउन चरणबद्ध आन्दोलन गर्ने निर्णय गरिएको अखिल (छैठौंं) का केन्द्रीय सदस्य पुरन पोखरेलले जानकारी दिनुभयो ।
बिहीबार भीसी, रजिस्टार र रेक्टरको कार्यालयमा तालाबन्दी गरेका विद्यार्थी संगठनहरुले शुक्रबार कालो ब्यानर टाँगेका हुन् ।
यस्तै, मंसिर २० गते सबै विभागमा विद्यार्थी जागरण अभियान सञ्चालन गर्ने, २१ गते शिक्षाविद, प्राध्यापकसहति अन्तरक्रिया गर्ने, २२ गते उपकुलपति शिक्षाध्यक्ष र रजिस्टारको कार्यालय घेराउ गर्ने तथा २३ गते त्रिवि पदाधिकारीलाई त्रिवि परिसरमा प्रवेश निषेध गर्ने कार्यक्रम तय गरिएको पोखरेलले बताउनुभयो ।
शुक्रबार बसेको त्रिभुवन विश्वविद्यालय संयुक्त विद्यार्थी संगठन संघर्ष समितिले सो निर्णय गरेको हो ।
