काठमाडौं । पाँच दलीय गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको काम कारबाही अघि बढाउन सुझाव दिएका छन् ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश राणालाई बिदामा बसेर कार्यबाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभयो ।
जबराको विषयलाई लिएर लामो समयदेखि सर्वोच्चमा अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन जबरालाई सुझाव दिइएको उहाँले बताउनुभयो ।
‘प्रधानन्यायाधीश बिरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने पाँच दलको निष्कर्ष रहेको छ’ पौडेलले भन्नुभयो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र राजमो उपाध्यक्ष पौडेल लगायतका नेताहरुको सहभागिता थियो ।