बागलुङ । राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले बुवाको परम्परागत काजक्रिया नगरेर समाजलाई सकारात्मक सन्देश दिनुभएको छ ।
नेता शर्माकाका बुवा विष्णुदत्त उपाध्यायको हिजो (मंसिर ११ गते) निधन भएको थियो । दिवंगत बुवाप्रति श्रद्धाञ्जली अर्पण गर्न राजमो बागलुङले आइतबार जैमिनी नगरपालिका ७ जैदीमा शोक सभाको आयोजना गरेको छ ।
शोक सभामा नेता शर्माले बाबाआमाप्रति बाँचुन्जेल सम्मान, सहयोग गर्ने र उनीहरुको हेरचाहमा सम्पूर्ण तवरले समर्पित हुनुपर्ने जिम्मेवारी पूरा गर्नु नै अभिभावकप्रतिको वास्तविक श्रद्धाञ्जली हुने भएकाले आफू मृत्युपछि परम्परागत काजक्रियामा सहभागी नभएको तर बाबाको सम्झना भने सधैँभरी गरी रहने बताउनु भयो ।
कार्यक्रममा राजमोका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले बुवाप्रति श्रद्धाञ्जली दिई पार्टीले असल अभिभावक गुमाउनु परेको चर्चा गर्नु भयो । मृत्युप्रतिको भौतिकवादी दृष्टिकोण अवलम्बन गर्दै राजमो नेता आनन्द शर्माले परम्परागत काजकृयामा सामेल नभई समाज परिवर्तनको दिशामा महत्वपूर्ण सन्देश दिनु भएको बताउनु भयो ।
राजमो बागलुङका अध्यक्ष अमर थापाको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा परिवारका तर्फबाट नेता आनन्द शर्मा, राजमो बागलुङका सचिव भीमलाल पोखरेलले श्रद्धाञ्जली मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा राजमो केन्द्रीय सदस्य लिलादेवी शर्मा, परिषद सदस्य तिलक थापा, जिल्ला सदस्य थानेश्वर सुवेदी, अखिल नेपाल युवक संघ गण्डकी प्रदेश समितिका सचिव सञ्जाल शर्मा लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वनले गर्नु भएको थियो । मृतक विष्णुदत्त पाध्या, आनन्द शर्मा, उपेन्द्र शर्मा, नेत्रनाथ शर्मा र योगराज शर्मा गरी चार भाई छोरा र श्रीमती कौसिलादेवी पाध्या रहनु भएको छ । परिवारका सम्पूर्ण सदस्य नै पार्टी संगठनमा संगठित हुनुहुन्छ ।