काठमाडौँ । नेकपा (मसाल) ले तत्कालीन अखिल भारत नेपाली एकता समाजका संस्थापक उपसभापति रामचन्द्र पौडेलको निधन भएकोमा भावपूर्ण श्रद्धाञ्जली तथा सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
पार्टी प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०७८ मङ्सिर १० गते प्रसारित शोकवक्तव्यमा श्रद्धाञ्जली तथा समवेदना प्रकट गरिएको हो ।
शोकवक्तव्यमा पार्टीले प्रवासी नेपालीको हक, अधिकारको रक्षा गर्दै नेपालको जनवादी तथा प्रजातान्त्रिक आन्दोलनलाई सहयोग पुर्याउने एकता समाज जस्तो सङ्गठनमा योगदान गर्नुभएका पौडेलको निधन भएकोमा नेपालको कम्युनिस्ट आन्दोलनलाई नै क्षति पुगेको धारणा व्यक्त गरिएको छ ।
यस्तो छ शोकवक्तव्यको पूर्ण पाठ
“चितवन जिल्ला कालिका नगरपालिका–५ पदमपुर निवासी का. रामचन्द्र पौडेलको क्यान्सर रोगबाट काठमाडौँमा मृत्यु भएको छ । उहाँको मृत्युप्रति हामीले गम्भीर दुःख प्रकट गर्दै सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ ।
का. पौडेल तत्कालीन अखिल भारत नेपाली एकता समाजको संस्थापक उपसभापति हुनुहुन्थ्यो । उहाँले तेस्रो राष्ट्रिय सम्मेलनबाट महासचिवको जिम्मेवारी पनि बहन गर्नुभएको थियो । भारतस्थित प्रवासी नेपालीहरूको हक र अधिकारको रक्षा गर्दै नेपालको जनवादी तथा प्रजातान्त्रिक आन्दोलनलाई सहयोग पु¥याउन त्यो सामाजिक सङ्गठनले धेरै नै महत्त्वपूर्ण भूमिका खेलेको थियो । त्यसरी त्यस प्रकारको महत्त्वपूर्ण सङ्गठनको संस्थापक उपसभापति भएर उहाँले प्रवासी नेपालीहरूको हक–अधिकारका साथै नेपालको जनवादी तथा प्रजातान्त्रिक आन्दोलनमा समेत योगदान दिनुभएको थियो । पछिल्लो समयमा उहाँ हाम्रो पार्टीबाट अलग्गिनुभएको भए पनि नेपाली कम्युनिस्ट आन्दोलनभित्र नै उहाँ क्रियाशील भइरहनु भएको थियो । उहाँको मृत्युबाट नेपालको कम्युनिस्ट आन्दोलनमा गम्भीर क्षति पुगेको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ ।”