काठमाडौं । सर्वोच्च अदालतमा मंसिर १५ गतेबाट गोलाप्रथाबाट इजलास गठन र पेशी तोक्ने व्यवस्था लागू हुने भएको छ । बिहीबार बसेको फुलकोर्ट बैठकले सो निर्णय गरेको सर्वोच्चका सूचना अधिकारी देबेन्द्र ढकालले जानकारी दिनुभयो ।
यसअघि मंगलबार न्यायाधीशहरुले नै बुधबार फुलकोर्ट बोलाउने र १५ गतेबाट गोलाप्रथा मार्फत पेशी तोक्ने सहमति गरेका थिए । उक्त सहमती फुलकोर्टबाट पारित भएको हो ।
न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले सर्वोच्च अदालतमा देखिएको बेथिति अन्त्यका लागि गोलाप्रथा तत्काल लागू गर्न सुझाव दिएको थियो । स्वचालित प्रणालि लागू गर्न सुझाव दिए पनि त्यसका लागि समय लाग्ने भएपछि तत्काल गोलाप्रथा सुरु गरिएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै न्यायाधीशहरुले इजलास नै बहिस्कार गरेका थिए । अहिले पनि सबैखालका मुद्दामा भने सुनुवाइ भएको छैन । गोलाप्रथाबाट पेशी तोक्न थालेपछि मात्रै सबै मुद्दा हेर्ने न्यायाधीशहरुको सहमति छ ।
फुलकोर्ट बैठकमा प्रधानन्यायाधीशलाई भने सहभागी गराइएन । उहाँले न्यायाधीशहरुले गरेका निर्णयमा पछि हस्ताक्षर गर्नुभयो । यसअघि पेशीसम्बन्धी निर्देशिका र सर्वोच्च अदालत नियमावली संशोधन गर्ने निर्णय गर्दा पनि राणालाई सहभागी गराइएको थिएन ।