काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीले आज पनि सर्वोच्च अदालतको गेटमा धर्ना दिएका छन् । नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीले धर्ना जारी राखेका हुन् ।
त्यसक्रममा केहीबेर प्रहरी र कानुन व्यवसायीबीच धकेलाधकेलसमेत भएको थियो । बिहीबार प्रहरीले बल प्रयोग गर्दा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित केही कानुन व्यवसायी घाइते भएका थिए ।
यसैबीच बार परिसरभित्रै छिरेर कानुन व्यवसायीलाई धम्क्याउने व्यक्तिहरू पक्राउ परेका छन् । बिहीबार नेपाल बार एसोसिएसन परिसरभित्रै छिरेर वकिलहरूलाई धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर, काठमाडौंले तीर्थ ढकाल र सीताराम श्रेष्ठलाई नियन्त्रणमा लिइएको हो । अहिले दुवै जना परिसरको नियन्त्रणमा छन् । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
बिहीबार दिउँसो प्रधानन्यायाधी जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका बेला अचानक केही युवा बार परिसरभित्रै पसेर वकिलहरूलाई तथानाम गाली गरेका थिए ।