काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमसीसी संसदमा प्रस्तुत र पारित गर्न सहज नरहेको निष्कर्ष निकालेको छ । वर्तमान नेपाली कांग्रेस नेतृत्वको सरकारलाई एमसीसी पारित गर्न दबाब बढेपनि त्यो काम सहज नभएको जनमोर्चाले स्पष्ट पारेको छ ।
हालै सम्पन्न राजमोको केन्द्रीय समिति बैठकले एमसीसीबारे नेपालका राजनीतिक दलहरूमा तीनवटा धारणा रहेको ठहर गरेको छ । राजमोका अनुसार नेपाली कांग्रेस एमसीसीका पक्षमा छ, माओवादी र एकीकृत समाजवादी एमसीसीलाई संशोधन नगरी संसदबाट पारित गरिनु हुन्न भन्ने पक्षमा छन् भने राजमो दृढ रुपमा एमसीसीका विरुद्ध रहेको छ ।
एमसीसीको पक्षमा रहका सत्तारुढ नेपाली कांग्रेस र प्रतिपक्षी दल नेकपा (एमाले) नजिकिन सक्ने चर्चा भइरहेका बेला गठबन्धन टुटाएर एमसीसी पारित गर्न कांग्रेसलाई सहज नरहेको धारणा सार्वजनिक गरेको हो । बुधबार अध्यक्ष चित्रबहादुर केसीले प्रेसित गर्नुभएको वक्तव्यमा पाँच दलीय गठबन्धनलाई टुटाएर एमसीसी पारित गर्न कांग्रेस नेतृत्वको सरकारलाई सहज नरहेको स्पष्ट पारिएको छ ।
‘नेपाली कांग्रेस एमसीसीको पक्षमा रहेको छ । नेपाली कांग्रेसभित्रबाट तथा अमेरिकी साम्राज्यवादबाट नेकाको नेतृत्वमाथि दबाब रहेको छ । त्यसका वाबजुत पनि ५ दलीय गठबन्धनमा आवद्ध माओवादी र एकिकृत समाजवादी एमसीसीलाई संशोधन नगरी संसदबाट पारित गरिनु हुन्न भन्ने पक्षमा छन् भने हाम्रो पार्टी दृढ रुपमा एमसीसीका विरुद्ध रहेको छ’ वक्तव्यमा भनिएको छ, ‘त्यसैले गर्दा ५ दलीय गठबन्धनमा फुट पार्ने गरी तत्कालका लागि एमसीसी संसदमा प्रस्तुत गर्न र त्यसलाई पारित गर्न नेकाका लागि त्यति सजिलो छैन । त्यो कारणले नै सरकारको न्यूनतम साझा कार्यक्रममा समेत एमसीसीको कुनै उल्लेख नगर्नु त्यसैको परिणाम हो ।’
राजमोले ५ दलीय गठबन्धनलाई टुटाउनका लागि देशी विदेशी शक्तिहरुबाट प्रयास भैरहेको पनि जनाएको छ ।
‘त्यसका लागि एमाले, भारतीय, अमेरिकी साम्रज्यवाद तथा राजावादी शक्तिहरुले पुरा प्रयत्न गरिरहेका छन् । ५ दलीय गठबन्धनलाई टुटाउनका पछाडि ती शक्तिहरुका बेग्लाबेग्लै उद्देश्यहरु रहेका छन् । अमेरिकाले एमसिसी पारित गराउन, भारतीय साम्राज्यवादले नेपालमा राजतन्त्र तथा हिन्दूराज्य ब्यूँताउन, एमाले र राजावादीहरुले देशलाई प्रतिगमन तर्फ लैजाने उद्देश्यले काम गरेको छ’ वक्तव्यमा उल्लेख छ ।
वक्तव्यको पूर्णपाठ यहाँ : आगामी निर्वाचनमा एमाले र राजावादीसँग सहकार्य नगर्ने राजमोको निष्कर्ष