काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले न्यायालयमा देखिएको संकट राजनीतिक दलहरुबीचको भागबण्डाको दुस्परिणाम भएको बताउनुभएको छ । मंगलबार बिहान एक रेडियोलाई अन्तर्वार्ता दिँदै अध्यक्ष केसीले दलहरूसहित बार र बेन्चले कमीकमजोरी स्वीकारेर त्यसलाई सच्चाउनुपर्ने बताउनुभयो ।
‘मुख्य खराबी दलहरूमा नै छ । न्यायालय, निर्वाचन आयोगदेखि राजदूतसम्म गरेको भागबन्डाको दुष्परिणाम अहिले देखिएको छ’ केसीले भन्नुभयो, ‘दलहरूसहित बार र बेन्चले कमीकमजोरी स्वीकारेर त्यसलाई सच्चाउनुपर्छ ।’
आफूले आजभन्दा ६ वर्ष पहिले नै यो समस्या आउने देखेको तर त्यतिबेला आफूलाई एक्लै पारेको उहाँले स्मरण गर्नुभयो । उहाँले न्यायाधीशदेखि वकिलसम्म विचौलिया भएको भन्दै न्यायप्रणाली नै ध्वस्त भएको बताउनुभयो ।
अध्यक्ष केसीले भन्नुभयो, ‘अदालत र न्यायप्रणाली ध्वस्त गराउन सबै पक्ष जिम्मेवार छन् । जसले गल्ती कमजोरी गरेको छ, उसले सजाय पाउनुपर्छ । यहाँ न्यायाधीशदेखि वकिलसम्म विचौलिया छन् । न्यायाधीशहरू घुस खान लाजघिन मान्दैनन् । अब सबैले आआफ्ना गल्ती कमजोरी नदोहोर्याउने बाचा गर्नुपर्छ ।’
अध्यक्ष केसीले सत्ता र शक्तिमा बस्नेहरु राष्ट्र र जनताप्रति इमान्दार नरहेकाले समस्या आएको बताउनुभयो । सत्ता र शक्तिमा बस्नेहरु इमानदार हुन सके यस्ता समस्या समाधान हुने उहाँको विश्वास थियो ।
अध्यक्ष केसीले संघीयता भ्रष्टाचारको अखाडा भएको दोहोर्याउनुभयो । अब यसलाई जरैदेखि उखेलेर फाल्न आफ्नो दलले कार्यक्रम ल्याउने उहाँको भनाई थियो ।