काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूविरुद्ध आन्दोलनरत दुवै बार एसोसिएसनलाई वार्तामा आउन आह्वान गर्नुभएको छ । सोमबार आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलन गरी प्रधानन्यायाधीश राणाले वार्तामा आउन आह्वान गर्नुभएको हो ।
सोमबार आफ्नो राजीनामा माग्दै अदालत परिसरमा वकिलहरूको धर्ना जारी रहेका बेला भित्र कार्यकक्षमा उहाँले पत्रकार सम्मेलन गरी विज्ञप्तिमार्फत संवादका लागि आग्रह गर्नुभएको हो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले अदालतभित्रै पत्रकार सम्मेलन गरी प्रधानन्यायाधीको विज्ञप्ति सार्वजनिक गर्नुभएको थियो ।
विज्ञप्तिमा प्रधानन्यायाधीश जबराले भन्नुभएको छ, ‘विधिको पक्षमा दृढतापूर्वक उभिँदै न्यायपालिकाको एकै परिवारभित्र देखिएका समस्याको हल गर्न विग्रहको बाटो छोडी संवादको मार्ग रोजौं भनी पुनः सबैमा हार्दिक आह्वान गर्दछु ।’
आज काठमाडौं उपत्यकास्थित सबै अदालतमा रहेका बार एकाइका अधिवक्ताले संयुक्त धर्ना दिइरहेका छन् ।
तोकियो सबैखाले मुद्दामा पेसी
प्रधानन्यायाधीश जबराले आज पनि बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । दश वटा इजलासमा पेसी तोक्नुभएका उहाँले आफ्ना लागि भने पूर्ण एकल इजलासमा पेसी तोक्नुभएको छ । आठ वटा संयुक्त र दुई वटा एकल इजलासमा पेसी तोकिए पनि मुद्दाको सुनुवाइ प्रारम्भ भने भएको छैन ।
यही कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्दै आएका छन् ।
यही कारण सर्वोच्च अदालतमा यही कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन नसके पनि बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ हुँदै आएको छ । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशलाई पनि संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभएको छ ।
अदालतमा बेञ्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । बेञ्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् ।