नारायण ढुंगाना, काठमाडौं ।
मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने टुक्चे पिकबाट आज बिहान अप्रत्याशित रुमपा ठूलो हिउँ पहिरो खस्यो । बस्तीभन्दा निकैमाथि पहिरो खसे पनि त्यसको असर बस्तीसम्मै आइपुगेको थियो । ‘बीचमा पर्ने ठूलो खोच नभएको भए, ठूलो मानवीय क्षति नै हुन्थ्यो’, प्रत्यक्षदर्शीसमेत रहनुभएका उक्त वडाका अध्यक्ष नरप्रसाद हिराचनले जानकारी दिनुभयो।
उक्त खोँचमा अहिले हिउँको पहाड आएर अड्किएको र अहिलेसम्म घटनास्थलमा कोही पनि जान नसकेको उहाँले बताउनुभयो । भोलि गएर वस्तुस्थितिबारे जानकारी लिने तयारी भएको पनि उहाँले बताउनुभयो । तल्लो बस्तीबाट हिँडेर जान निक्कै समय लाग्ने जनाइएको छ । हिम पहिरो बिहान ११ः४० मिनेटमा खसेको थियो तर अझै खस्ने क्रम भने नरोकिएको र माथि केही हिउँका पहाड फेरि पनि झर्ने होकी भन्ने चिन्तामा मानिस रहेको उहाँले जानकारी दिनुभयो । उक्त टुक्चे पिकलाई स्थानीयले मानापाथि हिमाल पनि भन्ने गर्छन् । सानो र ठूलो हिमालसँगै रहेकाले ठूलोलाई पाथी र सानोलाई माना भनेर भन्ने गरिएको हो । उक्त हिमाल धौलागिरिको समिपमा दायाँतर्फ रहेको हिराचनले बताउनुभयो । स्थानीय अहिलेसम्म उक्त क्षेत्रमा यस्तो कहिल्यै नबेहोरिएको बताउँछन् ।
वडाध्याक्ष हिराचनका अनुसार खेतीबाली, चौँरी, घरमा सुकाएको विस्कुनमा क्षति पु-याएको छ । जोत्दाजोत्दै गोरु भागेका, मान्छे भागाभाग गरेका दृष्यहरू त्यसबेला देखिएको थियो । केही मान्छे ढुङ्गाको ओढार र च्यापमा लुकेर ज्यान जोगाएका थिए । पहिराबाट निस्किएको धुलोसहितको हालाले भने बस्तीसम्मै असर गरेको थियो । सुशीला गौचनका चौरी गोठाले लालबहादुर गुरुङ चौरीलाई नुन खुवाउन गएका थिए । उक्त गोठलगायत अन्यका गोठ र रासन पानी पनि सबै उडाएको र केही चौरी परेको भन्ने खबर आएको पनि वडाध्यक्ष हिराचनले सुनाउनुभयो ।
तल्लो बस्तीमा रहेको जनआदर्श अमरसिंह माध्यामिक विद्यालय थियो । विद्यालयका प्रअ खेम गुरुङ बाहिर चौरमा बस्दा हिउँ खसिरहेको देखेपछि शिक्षक र विद्यार्थी सबैलाई सुरक्षित ठाउँमा पठाइएको थियो । सो क्रममा भागदौड हुँदा केही घाइते भएका जनाइएको छ । उक्त स्कुलमा १६० विद्यार्थी थिए । हिउँ खसेको नजिक भीमप्रसाद थकाली, सुरेन्द्र गौतम, रमेश मगर, राजेन्द्र तुलाचन, महेन्द्र शेरचन, श्याम तामाङको चौरी गोठ थियो । त्यस क्षेत्रमा ३५० चौँरी गाई थिए । त्यसमध्ये कतिपय हिउँ पहिरोमा परेको भन्ने जानकारी आएको तर पुष्टि नभएको पनि हिराचनले बताउनुभयो ।
उहाँका अनुसार अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन । रुखहरु ढालेको छ, घरहरूका छाना उडाएको छ । हिमाल मुनी ठूलो खोँच रहेकाले त्यहाँ हिउँ खसेको र त्यसबाट बेगको हावाले धुलोलगायत अन्य चिजवस्तु उडाएकाले केहीका घरका छाना र केहीका घर नै उडाएको उहाँको भनाइ छ । उहाँका अनुसार गाउँमा धुलोले आँखै नदेखिने अबस्था भएको थियो ।
खोचमा बोक्सी र लाङक्यू खोला रहेको छ । खसेको हिउँ दुवै खोलाबाट बाँडिएर झरेकाले क्षति कम गर्न सहयोग पुगेको जनाइएको छ । वडाध्यक्ष हिराचनले भन्नुभयो, ‘एउटै खोलामा आएको भए ठूलो क्षति हुन सक्थ्यो तर त्यसो हुन पाएन, अहिले दुवै खोलाबाट धमिलो पानी बगिररहेको छ, माथिबाट हिउँका डल्ला खसिरहेको छ ।’
उहाँका अनुसार खोँच नभएको भए र दुवै खोलामा नबाँडिएको भए त्यहाँको तल्लो तटीय क्षेत्रमा रहेको नाउरीकोट, लाजिङ ,गोवाङ, बोक्सीखोला आसपास बस्तीका १०० घरमा क्षति पु-याउन सक्ने थियो । त्यहाँ झण्डै ७०० जनसङ्ख्या छ । डर त्रासका कारण अहिलेसम्म कोही जान नसकेको पनि उहाँले सुनाउनुभयो ।
भागदौडमा ११ जना घाइते
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा हिउँ पहिरो खसेको देखेपछि भागदौडमा स्थानीय स्कुलका विद्यार्थी र शिक्षक ११ जना घाइते भएका छन् । पाँच जना अलि गम्भीर रहेको र दुई जनालाई उपचारका लागि रिफर गरिएको उहाँले जानकारी दिनुभयो । शर्माले भन्नुभयो, ‘उक्त हिम पहिरो धौलागिरि हिमश्रृङ्खलाबाट खसको हो, नजिक खर्क छ, च्याङग्रा तल झारिसकेको छ तर चौरीहरू माथि रहेकाले पहिरोमा परेको भन्ने आएको छ ।’ उहाँले थप्दै भन्नुभयो, ‘एक खालको उल्का जस्तो गरे र आयो, यतै आउँछ की भनेर मानिस भागे, झण्डै साढे दुई किलोमिटर क्षेत्रमा हिउँका ढिक्का पुगेको छ, घरको छानासमेत उडाएको छ ।’ पहिरो खसेको ठाउँबाट स्कुलको दुरी भने झण्डै दुई किलोमिटर रहेको छ, त्यहाँ असर पुगेको छ ।
जलवायु परिवर्तनको असर
उक्त घटनालाई नजिकबाट नियालिरहनुभएका जलवायु परिवर्तन विज्ञ डा ङमिन्द्र दाहाल यो असामान्य घटना घटेको सुनाउनुहुन्छ । उहाँ ‘यसअघि मेलम्चीखोला अकल्पनीय रुपमा उर्लेर तहसनहस पार्ने गरी आयो, कात्तिक पहिलो साता बेमौसममा ठूलो क्षति हुने गरी भारी वर्षा भयो, अहिले सामान्यत हिउँ जन्मे बेलामा यसरी हिउँ पहिरो खस्ने भनेको यो जलवायु परिवर्तनको प्रत्यक्ष असर हो’ भन्नुहुन्छ ।
झलमल्ल घाम लागेर हिउँ पहिरो जाने बेला यो नभएको उहाँको भनाइ छ । ‘मनसुनमा धेरै हिउँ परेको छैन, मनसुन सकिएपछि हिउँ राम्ररी पर्ने गरी पानी परेको पनि छैन, जुन खालको हिउँ पहिरो गएको छ, यो पुरानो हिउँ नै पग्लेर गएको जस्तो देखिन्छ, यो चाहिँ डरलाग्दो अवस्था हो’, डा दाहालले भन्नुभयो ।
‘अगस्ट’ सेप्टेम्बर हिउँ पग्लने अवस्था हो, अहिले हिउँ नै थुप्रिन पाएको छैन कहाँबाट गयो? यो महिना हिउँ पग्निे समय पनि होइन, यस्तो समयमा हिउँ पहिरो गएको छ’, उहाँ शशंकित हुँदै भन्नुहुन्छ’ ‘कसरी गयो अन्योलको विषय छ ।’ तापक्रम नियमित बढिरहेको र हिउँको तल्लो तहसम्म विस्तारै गल्दै गएको हुन्छ, जलवायु परिवर्तनको कारण भनेर भन्न सकिने उहाँले जिकिर गर्नुभयो । मेलम्चीमा मनसुन नजाने ठाउँमा मनसुन गएर भारती वर्षा हुँदा मेलम्ची खतरनाक हुँदै आएको स्मरण गर्दै उहाँले यस्तो घटना अब दोहोरिने भएकाले बेलैमा सचेत हुनुपर्ने सुझाव पनि दिनुभयो । (रासस)