काठमाडौं । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख कलौनीले प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई आज साँझ ७ः३० बजेभित्र मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा १६९ उपधारा १ ९(क) बमोजिम प्रदेश प्रमुखसमक्ष सोमबार साँझ राजीनामा दिनुभएको थियो । प्रदेश प्रमुखले सोमबार नै उहाँको राजीनामा स्वीकृत गरी उक्त पदका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई २४ घण्टाको समयसीमा दिनुभएको हो ।
विसं २०७४ फागुन ३ गते मुख्यमन्त्री नियुक्त हुनुभएका शाहीले गत वैशाखमा विश्वासको मत लिने क्रममा नेपाली कांग्रेससँग भएको सत्ता समीकरणसम्बन्धी सहमति कार्यान्वयन गर्न राजीनामा दिएको उहाँद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ ।
कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्दै
कर्णाली प्रदेशमा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्नुहुने भएका छ । आधा आधा समय सत्ता नेतृत्व गर्ने पूर्व सहमतिअनुसार यसअघिका मुख्यमन्त्री माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले राजीनामा दिएपछि कांग्रेसको संसदीय दलका नेता जीवनबहादुर शाहीको नेतृत्वमा नयाँ प्रदेश सरकार गठन हुने भएको हो।
कांग्रेस–माओवादी केन्द्रबीच पहिलो ६ महिना शाही र बाँकी समय जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी थियो।
प्रदेशदेखि केन्द्रीय सरकारमा प्रतिपक्षमा रहेको कांग्रेस सोही सहमतिअनुसार पहिलोपटक कर्णालीमा दुई मन्त्रीसहित सत्तामा पुगेको थियो । कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एकीकृत समाजवादीका तीन सांसद छन् ।