काठमाडौं । मन्त्रिमण्डलमा भागबण्डा खोजेको आरोप लागेपछि विवादमा तानिएका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराप्रति सर्वोच्च अदालतकै न्यायाधीशहरु आक्रामक रुपमा प्रस्तुत भएका छन् । प्रधानन्यायाधीश राणाले बोलाएको फूलकोर्टको बैठक १४ जना न्यायायाधीशहरुले बहिष्कार गर्ने भएका छन् ।
प्रधानन्यायाधीश जबराले समग्र न्यायालय सुधारका विषयमा सर्वोच्च अदालतका सबै न्यायाधीशसहितको पूर्ण बैठक (फूलकोर्ट) बोलाउनुभएको थियो । तर, असन्तुष्ट १४ न्यायाधीशहरूले आफूहरु बैठकमा अनुपस्थित हुने जनाएका हुन् ।
प्रधानन्यायाधीश राणाले कार्यपालिकामा भागवण्डा खोजेको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेको लगायतका आरोप असन्तुष्ट न्यायाधीशहरूले लगाएका छन् । प्रधानन्यायाधीश राणासँग दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत, आनन्द मोहन भट्टराई, सुष्मालता माथेमा, प्रकाश ढुंगाना, कुमार रेग्मी, हरि फुयाँल, बमकुमार श्रेष्ठ, टंक मोक्तान, मनोज शर्मा र नहकुल सुवेदी सहभागी असन्तुष्ट छन् ।
असन्तुष्ट न्यायाधीशहरुको बेग्लै बैठक बसेको सर्वोच्च स्रोतले जनाएको छ । न्यायाधीशरुले बहिष्कार गर्ने निर्णय गरेसँगै प्रधानन्यायाधीशले बोलाएको पूर्ण इजलास अन्यौलमा परेको छ ।
न्यायाधीशहरु आक्रामक रुपमा प्रस्तुत हुँदा कानुन व्यवसायी भने नरम देखिएका छन् । न्यायाधीशहरुले प्रधानन्यायाधीश राणाको राजीनामा माग्दा नेपाल बार एसोसिएसनका कयौं पदाधिकारीले भने प्रधानन्यायाधीशलाई साथ दिएका छन् ।
नेपाल बार एशोसियसनका पदाधिकारीहरूसँग हिजो भएको वार्तापछि प्रधानन्यायाधीश जबराले आज (सोमबार) दिउँसो १ बजेका लागि फूलकोर्ट बोलाउनुभएको हो । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितको टोलीसँग आइतबार बिहान ११ बजेदेखि तीन घण्टासम्म छलफलपछि प्रधानन्यायाधीशले यस्तो निर्णय लिनुभएको थियो ।
यसैबीच प्रधानन्यायाधीश जबराले कुनै हालतमा राजीनामा नदिने स्पष्ट पार्नुभएको छ । आफूविरुद्ध चौतर्फी घेराबन्दी भएपनि त्यसको सामना गर्ने जवराले बताउनुभएको छ ।
फूलकोर्ट बहिष्कार गर्ने १४ न्यायाधीशहरुलाई पनि सहमतिमा ल्याएर अदालती कामकारबाही सुचारु गर्ने प्रधानन्यायाधीशको तयारी छ ।
पूर्वन्यायाधीशहरुको फोरम देखि विभिन्न शक्तिबाट प्रधानन्यायाधीशमाथि राजीनामाको दबाब बढाइएको छ । विशेषगरी संवैधानिक परिषदसम्बन्धी नियुक्ति खारेजी र ललिता निवास प्रकरणको मुद्दामा प्रधानन्यायाधीश जबरामाथि दबाब बढाइएको छ ।