पोखरा । कास्कीको घान्द्रुक दुर्घटनामा परी मृत्यु हुनेहरुको पहिचान खुलेको छ । मृतक गाडीचालक बाहेक सबैजना काठमाडौंको गोंगबुका भएको प्रहरीले जनाएको छ । गण्डकी प्रदेश प्रहरीले मृतकको सनाखत गरेको हो । घटनामा चालकसहित ८ जनाको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा काठमाडौं–३, गोंगबु घर भइ पोखरा घुम्न आएका १८ वर्षीय जिनलव घिसिङ, २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षकै सुमन चौधरी, २२ को अछुतम काफ्ले, १८ वर्षीय आशिष आले, गोरखा घर भइ गोंगबु बस्ने २७ वर्षीय विनय क्षेत्री र जिप चालक कास्कीको अन्नपूर्ण गाउँपालिका ५ घर भइ हाल नयाँ पुल बस्ने ४२ वर्षीय खुसीमान क्षेत्री रहेका छन् । मृतकको शव पोखरा ल्याइँदै छ ।
दुर्घटनामा परेकी गोंगबुकै २० वर्षीया देविका घिसिङ भने सामान्य घाइते छन् । दुर्घटना हुँदा उछिट्टिएर भिरमा अड्केकी उनको बायाँ हात र नाकमा सामान्य चोट लागेको छ । उनलाई स्थानीयले उद्दार गरेका थिए ।
काठमाडौंबाट घुम्न आएका उनीहरु कास्कीको नयाँपुलबाट ग १ज ६९०० नम्बरको बोलेरो जिप लिएर प्रसिद्ध पर्यटकीय स्थल घान्द्रुकतर्फ लागेका थिए । जिप कलडाँडामा पुग्दा अनियन्त्रित भइ भिरबाट खसेको थियो। घटनास्थल पोखराबाट ३२ किलोमिटरको दूरीमा रहेको छ ।