बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार दिउँसो भएको झडपमा तीन जनाको मृत्यु भएको छ । सुकुम्बासीका नाममा सरकारी जग्गा कब्जा गरी बसेकाहरु र प्रहरीबीचको झडपमा घाइते भएकामध्ये तीन जनाको ज्यान गएको हो।
भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेका सर्वसाधारणमध्ये तीनजनाको ज्यान गएको एक चिकित्सकले बताएका छन् । मृतकहरुको नाम, ठेगाना खुल्न बाँकी छ । यद्यपी सुरक्षा अधिकारीहरुले यसको पुष्टि गरिसकेका छैनन् ।
मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जाको विषयमा प्रहरी र सर्वसाधारणबीच झडप भएपछि रुपन्देही प्रशासनले कर्फ्यु लगाएको छ । स्थिति नियन्त्रणभन्दा बाहिर जानसक्ने जोखिम बढेको भन्दै स्थानीय प्रशासनले आइतबार दिउँसो ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी गरेको हो ।
मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूहसँगको झडपका क्रममा प्रहरीले गोली चलाएको थियो । घटनामा परी कम्तिमा १३ जना घाइते भएका स्थानीयले जनाएका छन् ।
प्रशासनले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनाव भएको हो । प्रहरीले अस्थायी रुपमा बनाइएका टहराहरू भत्काउन खोज्दा झडप सुरु भएको थियो ।