वीरेन्द्रनगर । राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशले सुर्खेतमा विरोधसभाको कार्यक्रम सम्पन्न गरेको छ ।
विरोधसभाको प्रमुख वक्ता राष्ट्रिय जनमोर्चाका केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपाली हुनुहुन्थ्यो ।
सो अवसरमा सम्बोधन गर्दैै उहाँले गणतन्त्र र राष्ट्रिय स्वाधीनतामाथि गम्भीर आँच पुगेकाले त्यसको विद्धमा सम्पूर्ण देशभक्त तथा गणतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने बताउनुभयो ।
उहाँले गणतन्त्र अझै संस्थागत भइनसकेकाले प्रतिगामी षड्यन्त्रलाई पराजित गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
एमसिसीले नेपालको पञ्चशील तथा असंलग्नतासहितको स्वतन्त्र परराष्ट्र नीति धरापमा पर्ने बताउँदै अध्यक्ष नेपालीले एमसिसीको विरुद्ध एकपटक पुनः देशभक्तिपूर्ण आन्दोलन सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
सङ्घीयताको सन्दर्भमा उहाँले जतिसक्यो छिटो त्यसलाई खारेज गर्नुपर्ने बताउनुभयो ।
‘जति समयसम्म सङ्घीयता रहन्छ, त्यतिबेलासम्म देश राष्ट्रिय विखण्डन तीव्र हुने छ’ उहाँले भन्नुभयो– ‘सङ्घीयतालाई जतिसक्यो छिटो खारेज गर्नुमा नै देशको भलाइ छ ।’
विरोधसभालाई राजमो केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज रत्नविक्रम राना प्यासी, राजमो सुर्खेतका कोषाध्यक्ष विष्णुप्रसाद शर्मा, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य धर्मराज दानी, अखिल (छैठौं) का केन्द्रीय सदस्य हरि बुढा र अखिल नेपाल बुद्धिजीवी सङ्घका जिल्ला सदस्य पूर्णबहादुर शाहीले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन राजमोका भूपेन्द्रप्रसाद जोशीले गर्नुभयको थियो ।
कार्यक्रम सुर्खेत वीरेन्द्रनगर मङ्गलगडी चोकमा सम्पन्न भएको थियो ।
