काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमसीसी खारेजी, संघीयताको विरोध, महंगी, भ्रष्टाचार लगायतका विषयलाई समेटी आज (बुधबार) सातै प्रदेशमा विरोध सभाको आयोजना गर्दैछ । कार्यक्रममा सहभागी हुन विभिन्न जिल्लाबाट नेता, कार्यकर्ता तथा समर्थकहरु कार्यक्रमस्थलमा पुगेका छन् ।
राजमोले ‘गणतन्त्र, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, संघीयता खारेज गरौँ’ भन्ने मुख्य नारा अन्तर्गत असोज २० गते एकैदिन देशका ७ वटै प्रदेशका मुकाममा प्रादेशिक स्तरका सभा आयोजना गरेको हो ।
सुदूरपश्चिमको धनगढीमा हुने विरोध सभालाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्दै हुनुहुन्छ । धनगढी चौराहबाट जुलुश प्रदर्शनसहित पार्कमोडमा पुगेर सभामा परिणत हुनेछ ।
यस्तै, वागमतीको काठमाडौंमा राजमो उपाध्यक्ष तथा सांसद दुर्गा पौडेल, २ नं प्रदेशको बीरगञ्जमा अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष भैरवराज रेग्मी र १ नं प्रदेशको इटहरीमा अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष तथा संविधान सभा सदस्य मीना पुनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी कर्णाली प्रदेशको सुर्खेतमा कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, लुम्बिनी प्रदेशको बुटवलमा उपाध्यक्ष जनकराज शर्मा र गण्डकी प्रदेशको पोखरामा नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीले सम्बोधन गर्ने कार्यक्रम छ ।
प्राप्त जानकारी अनुसार सातवटै स्थानका सभामा सहभागी हुन विभिन्न जिल्लाबाट नेता कार्यकर्ताहरु ठूलो संख्यामा सम्बन्धित कार्यक्रम स्थलमा पुगेका छन् ।