बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले यही असोज २० गतेदेखि जिल्लाव्यापी कार्यक्रम तय गरेको छ ।
‘गणतन्त्र, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, संघीयताको खारेज गरौं’ भन्ने मूल नाराका साथ जिल्लाका ५२ स्थानमा विरोध सभा गर्ने गरी संघर्षका कार्यक्रम तय गरेको राजमो बागलुङले जनाएको छ ।
यही असोज १५ र १६ गते बागलुङ बजारमा अध्यक्ष चित्र बहादुर केसीको उपस्थितिमा सम्पन्न प्रशिक्षण भेलाले संगठन र संघर्षलाई एक साथ अगाडि बढाउने निर्णय गरेको सचिव भिमलाल पोखरेलले जानकारी दिनुभएको छ ।
यस्तै, भेलाले आगामी फागुन मसान्तसम्म सातौं बागलुङ जिल्ला सम्मेलन गर्ने ठेगान पनि गरेको छ । सो कार्यक्रम सफल पार्न पौष मसान्तसम्म टोल तहसम्म बैठक गरी आवश्यक निर्णय र सदस्यता वितरण गर्ने, माघ १० गतेदेखि २९ गतेसम्म वडा स्तरका भेला गर्ने र फागुन १५ गतेभित्र पालिका तहका सम्मेलन गर्ने निर्णय भएको सचिव पोखरेलले बताउनुभयो ।
