डा. गोविन्दप्रसाद आचार्य ##
सम्मानका पदकको अपमान भयो ।
गौरव गयो भन्दै देश धुरु धुरु रोयो ।।
पदकले सिर ढाल्यो देश मुर्छा पर्यो ।
स्वाभिमानी देशको गौरव रौरवमा पर्यो ।।
जनक्रान्ति सहिदको नराख् छातीमाथि ।
काम गर्नेका इमानको नराख् छातीमाथि ।।
पदक लाउँदा सम्मानले फुल्न पाउनुपर्छ ।
कर्म मिठो फुली बास्ना देशमा डुल्नुपर्छ ।।
देशको गौरव भन्न पाऊँ पदक लाउनेलाई ।
अपमान नगरी दे देशका पदकलाई ।।
छाडा गोरु तह लाउने पदक घाँडो हैनन् ।
मनले छुँदा मनै चस्छ बिज्ने काँडो हैनन् ।।
ठगी गर्ने दाम कमाउने देशका पदक लाउने ।
देश बिचरो भयो अब तिनकै भजन गाउने ।।
सुखानीका सहिदको अपमान भयो ।
जनक्रान्ति सहिदको इतिहास रोयो ।।
लोकतन्त्रको बलिदानको अपमान भयो ।
किन होला यो देशमा जहान पदक लायो ।।
घरका जहान खुसी पार्न देशले पदक दिन्न ।
उस्को जल रगतमा छर्दा चोखो हुन्न ।।
इतिहासले मान्नुपर्छ देशको पदक लाउन ।
सक्दैन देश ठुस्सिएका जहान खुसी पार्न ।।
कर्मवीर भन्न पाऊँ पदक लाउनेलाई ।
सफा मन दिन पाऊँ देशका सर्जकलाई ।।
हर शिलामा खोप्न पाऊँ पदकको कर्म ।
चिडियाका गाना बनुन् पदकका कर्म ।।
सुन्ने कान नथाकेर कर्म सुनी रहुन् ।
कर्महरू जति हेर्यो उति हेरूँ बनुन् ।।
सुकिजाला मखमली बिउ रोपे फुल्ला ।
रोपेको बिउ कर्म मिठो ढकमक्क फुल्ला ।।
नानी रोए फुल्याउन देशले पदक दिन्न ।
देशको पदक बजारमा खेल्ने वस्तु हैन ।।
छातीमाथि पदक राख्दा कर्म हिमाल हाँसोस् ।
पदक राख्ने छातीसँग कर्म माया गाँसोस् ।।
जुन बोटमा हेरे पनि कर्म घोगा लागोस् ।
पदक लाउने दह्रो छाती देशको गौरव जागोस् ।।
सडक गए सडक थुक्छन् थुक्छन् वन मन ।
कर्मवीरले लाउने पदक किन लाउँछौ भन ।।
कर्मवीरको बारी पसी घोगा नभाँच्नू है ।
भोक लाग्दैमा अर्काको भाग खोसी नखानू है ।।
कर्म हिमाल उठाएको देख्न पाउनुपर्छ ।
खुसी भयो देशले दियो पदक लाउनुपर्छ ।।
पदकमा देश हिमालको गौरव हाँस्नुपर्छ ।
सहिदका हृदयको गाथा गाउनुपर्छ ।।
देश अनि जनताको आशा हुनुपर्छ ।
पदकमा विश्व मानव मुस्कुराउनुपर्छ ।।
भनेका छन् पदकले अपमान भयो ।
काम नगर्ने खन्चुवाका छातीमाथि गायो ।।
पदक लाउने कर्म खोज्दा भेटिएको छैन ।
वनमा फुल्ने सबै फूल शिरमा लाइँदैन ।।
पाइहालौँ र खाइहालौँको होट बाजीको देशमा ।
कर्मवीरको गौरव इमान कुल्चिएको देशमा ।।
मुखियाका जहान भए देशको पदक लाउन ।
गरिबका छोराछोरी बाकसमा आउने ।।
यस्तो न्याय देशको हुन्न मसानको होला ।
पदकमा मसानको न्याय पर्यो होला ।।
काम गर्नेको इमानलाइ निराशाको नर्क ।
कर्मवीर मानिस हो पदक नलाई फर्क ।।
मुर्कट्टाको हुन्न आँखा सही सत्य देख्ने ।
हुन्छ आँखा जहाँ पनि आफ्नै जहान देख्ने ।।
जहान नाता देखेको छ देश देख्या छैन ।
मसानको शासनमा न्याय हुँदै हुन्न ।।
दिनरात गरेका छन् विवेक गुम्या कमाई ।
त्यस्तैले त देशका पदक लाए रमाई रमाई ।।
कर्मवीरलाइ पदक देऊ गौरव हिमाल उग्लो ।
कुरूप हैन देशको न्याय बचाइराख सग्लो ।।
देशका मान्छे हुनुपर्छ तेरो मेरो हैन ।
देशका मान्छे बिथोलेर पदक दिने हैन ।।
सम्मानका पदकमा जहानको मान ।
कर्मवीरको वीरतामा जहानलाई थान ।।
धर्ती उल्टो हिँड्या छैन देश उल्टो हिँड्यो ।
कर्म गर्ने प्रतिभाको जोसजाँगर तोड्यो ।।
बाटो बिराई हिँड्यो देश कर्मवीर जाग ।
पूरापूर फेरि देश भन दुष्ट भाग ।।
बिरालाले मुसा मार्छ पदक दिए हुन्न ।
काम नगर्ने जहानलाई देशको पदक किन ।।
हातमा ठेला उठाउनेलाई देशले हेर्नुपर्यो ।।
जहानको छातीमाथि देशको पदक पर्यो ।।
भनेका छन् पदकले गर्नेको देश खै त ।
गर्नेको देश नभएको बिडम्वना यै त ।।
पिडकलाई लोकतन्त्र पिडितलाइ पिडा ।
कर्मवीरलाइ न्याय देऊ देश सुल्टो हिँडा ।।
चोेरलाइ चौतारो छ साधुलाई सुली ।
जहानलाइ पदक न दे सहिदलाइ भुली ।।
सम्मानका पदको अपमान नगर् ।
कर्मवीरको जाँगर मारी देशमा आँसु नछर ।।
चिन्ता लाग्छ बिरालोको हातमा देश गयो ।
देश सिद्रा बिरालाका हात नासो भयोे ।।
पदकको अपमान गर्न पाइँदैन ।
काम नगरी जहानलाई पदक चाहिँदैन ।।
दिने भए सम्मानका सहिदलाई देऊ ।
जहानलाई दिने प्रथा बन्द गरिदेऊ ।।