नवलपरासी । राष्ट्रिय जनमोर्चासहित २२ दलीय गठबन्धनमा आवद्ध राजनीतिक दलहरुले एमसीसीविरुद्ध नवलपरासीमा प्रदर्शन गरेका छन् ।
नवलपरासी जिल्लामा क्रियाशील ६ राजनैतिक दलहरूले सोमबार परासी बजारमा जुलुशसहित विरोध सभा गरेका हुन् ।
विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सदस्य तिलक प्रसाद सुवेदीले एमसीसी ईन्डोप्यासिफिक रणनीतिको अभिन्न अंग भएको बताउनुभयो । उहाँले अमेरिकी साम्राज्यवादको स्वार्थमा देशलाई रणभूमि बनाउने षड्यन्त्र विरुद्ध सम्पूर्ण स्वाधीनताप्रेमी नेपालीले यसको विरुद्ध उठ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा (मसाल) नवलपरासी जिल्ला प्रवक्ता धनपति सापकोटा, नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला सेक्रेटरी छबिलाल खराल, नेकपा प्रतिनिधि गणेश पाठकलगायतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रम नेकपा (मार्क्सवादी–पुष्पलाल) पार्टीकी दुर्गा देवी नेपालको अध्यक्षता र उत्तमराज खरेलको सञ्चालनमा सम्पन्न भएको थियोे । सभामा परिणत हुनु अघि जुलुसले परासी बजार परिक्रमा गरेको थियो ।