डोटी । राष्ट्रिय जनमोर्चाको नाममा डोटीमा भएको कथित भेला र अवैध समितिमा आफ्नो पनि नाम राखेकोमा राजमोका सदस्य तेजबहादुर ताम्राकार आक्रोशित हुनुभएको छ । राजमोको नाममा अवैध जिल्ला समितिमा आफ्नो नाम राख्नेहरुप्रति ताम्राकारले आक्रोश व्यक्त गर्नुभएको हो ।
युगदर्शनसँगको सम्पर्कमा उहाँले आफूलाई कुनै जानकारी नै नदिई कथित समितिमा राखिएको बताउनुभयो ।
‘हामी चित्रबहादुर केसीले नेतृत्व गरेको राष्ट्रिय जनमोर्चाका इमान्दार कार्यकर्ता हौँ । अवैध भेला, बैठक गर्नेहरुसँग हाम्रो कुनै सरोकार छैन’ उहाँले भन्नुभयो, ‘फुटपरस्त तत्वहरुले यहाँ अवैध भेला गरेर मेरो पनि नाम राखेको थाहा पाएँ । मान्छेलाई थाहै नदिएर यसरी राख्न पाइन्छ ?’
ताम्राकारले उक्त कथित भेलामा झुक्याएर केही साथीहरुलाई लगिएको र भेलामा उपस्थित नै नभएका कैयौं साथीहरूलाई समेत समितिमा राखिएको आफूले थाह पाएको बताउनुभयो । उहाँले सोमबार एक विज्ञप्ति प्रकाशित गरी पार्टी सदस्यहरुलाई कुनै भ्रममा नपर्न र जिल्लामा वेणीमाधव जोशी अध्यक्ष रहेको राष्ट्रिय जनमोर्चामा प्रतिवद्ध रहन पनि आग्रह गर्नुभएको छ ।
सुदूरपश्चिमका विभिन्न जिल्लामा राजमोको नाममा अवैध भेला गर्दै हिँडेको एक समूहले पार्टी सदस्यलाई झुक्याएर भेलामा ल्याउने, जवर्जस्ती समितिमा राखिदिने तथा भेलामा नआएका व्यक्तिहरुलाई समेत कथित समितिमा राखेर आफ्नो पक्षमा धेरै मान्छे देखाउने गरेको पाइएको छ । डोटीमा मात्रै कथित समितिमा राखिएका ११ जनाले यसअघि नै आफूहरु फुटपरस्त तत्वसँग सरोकार नरहेको स्पष्ट पारिसकेका छन् ।
यो पनि : राजमो डोटीको कथित समानान्तर समितिमा राखिएका ११ जना मूल पार्टीमै फिर्ता