डबल बोगटी, डोटी ।
राष्ट्रिय जनमोर्चाको नाममा केही दिनअघि डोटीमा भएको कथित भेलाबाट समानान्तर समितिमा राखिएका ११ जनाले आफूहरु सो समितिमा नरहेको स्पष्ट पारेका छन् । कथित भेलामा उपस्थित गराइएका केही सदस्य र भेलामै नआएका कतिपयलाई समेत समानान्तर समितिमा राखिएको थियो ।
फुटपरस्त तत्वहरुले समानान्तर समितिमा राखेका हिक्मत बोगटी, बमबहादुर विक, रामबहादुर खड्का, तारा भट्ट, कमल भण्डारी, दीपक विक, पुष्कर जोशी, रमेश पातली, जयकुमार मल्ल, शेरबहादुर बम र लोकराज अवस्थीले पार्टीसँग सम्पर्क गरी आफूहरु चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चामै रहेको स्पष्ट पार्नुभएको हो ।
आफूहरु लामो समयदेखि राष्ट्रिय जनमोर्चाको विभिन्न पद र जिम्मेवारीमा रही काम गर्दै आएकोमा भ्रमवस फुटपरस्त तत्वको भेलामा सामेल हुन पुगेका उहाँहरुले स्पष्ट पार्नुभएको छ । अझ, केही सदस्यले भने आफूहरु कथित भेलामा सामेल पनि नभएको र फुटपरस्त तत्वसँग कुनै सरोकार पनि नरहेको भन्दै कथित समानान्तर समितिमा राखिएकोप्रति आपत्ति जनाउनुभएको छ ।
साथै, उहाँहरुले फुटपरस्त तत्वको भ्रममा परी पार्टी विरुद्ध सामेल भएका आफ्ना साथीहरुलाई भ्रममुक्त भई चित्रबहादुर केसीले नेतृत्व गरेको राष्ट्रिय जनमोर्चामै सक्रिय रहन पनि अपिल गर्नुभएको छ । यस्तै, उहाँहरुले असोज २० गते धनगढीमा अध्यक्ष केसीले सम्बोधन गर्ने जनसभाको तयारीमा उत्साहका साथ लाग्न पनि आग्रह गर्नुभएको छ ।