काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले सातौं संविधान दिवसको सबैमा शुभकामना दिएको छ । आइतबार संविधान दिवसका अवसरमा एक वक्तव्य प्रकाशित गरी मसालले संविधान दिवसको शुभकामना दिएको हो ।
महामन्त्री मोहनविक्रम सिंहले जारी गर्नुभएको वक्तव्यमा नेपालको संविधान २०७२ नेपाली जनताको लामो बलिदानी र संघर्षबाट प्राप्त उपलब्धि भएको बताउनुभएको छ । संविधानमा लोकतन्त्र, समावेशी व्यवस्था, गणतन्त्र, धर्मनिरपेक्षता जस्ता सकारात्मक विषय समेटिएको तथा संघीयता जस्तो घातक व्यवस्थासमेत रहेको बताउनुभएको छ । उहाँले संविधानका उपलब्धिमाथि भइरहेको आक्रमणबाट यसको रक्षा गर्नुपर्ने स्पष्ट पार्नुभएको छ ।
तर, वर्तमान संविधान पूर्ण रुपमा जनताको पक्षमा नभएको र यसले जनाताको आधारभूत समस्या पनि समाधान गर्न नसक्ने भन्दै उहाँले नयाँ जनवादी क्रान्तिपछि स्थापना हुने व्यवस्थाले मात्रै जनताका आधारभूत समस्याको पूर्ण समाधान गर्नसक्ने बताउनुभएको छ ।
यस्तो छ, वक्तव्य
७ औँ संविधान दिवसको अवसरमा हामीले सम्पूर्ण नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्दछौँ । नेपालको संविधान, २०७२ नेपाली जनताको महान बलिदानी र लामो संघर्षबाट प्राप्त उपलब्धिको रुपमा रहेको छ । यो संविधान नेपालको संवैधानिक इतिहासमा जनताबाट निर्वाचित प्रतिनिधिबाट निर्माण भएको पहिलो संविधान हो । संविधानमा उल्लेख भएका गणतन्त्र र धर्मनिरपेक्षता जस्ता महत्वपूर्ण विषय नेपाली जनताको लामो त्याग, तपस्या र बलिदानीपूर्ण संघर्षबाट स्थापित हुन पुगेका राजनीतिक मूल्य भएको कुरा स्पष्ट छ । तिनीहरुको संरक्षण गर्दै तिनलाई संस्थागत विकास गर्नुपर्ने आवश्यकतामा हामीले जोड दिन चाहन्छौँ ।
शुरुदेखि नै गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरुबाट लगातार विभिन्न षडयन्त्र हुँदै आएका छन् । संविधानमा उल्लेख भएका गणतन्त्र र धर्मनिरपेक्षताप्रति प्रतिगामी शक्तिहरुले वैरभाव राख्दै आएका छन् । उनीहरुले तिनीहरुका विरुद्ध विभिन्न अभियान पनि चलाउँदै आएका छन् । संविधानमा उल्लेख भएका अग्रगामी पक्षलाई समाप्त पारेर देशमा प्रतिगमनको अवस्था निम्त्याउनका लागि देशी तथा विदेशी प्रतिक्रियावादीहरुले विभिन्न षडयन्त्र र चलखेल गर्दै आएको कुरा सबैका अगाडि स्पष्ट छ । तर जनताको संघर्ष र आन्दोलनले त्यस प्रकारका प्रयत्नलाई रोक्दै आएको छ । संविधानको मर्ममाथि नै प्रहार हुनेगरी विगतमा भएको प्रतिगमन त्यसको एउटा ज्वलन्त उदाहरण हो । तर त्यो प्रतिगमनको प्रयास जनताको आन्दोलनका अगाडि विफल भएको छ ।
सैद्धान्तिक र रणनीतिक दृष्टिकोणले त्यसको विशेष महत्व नभएपनि तात्कालिक राजनीतिक दृष्टिकोणले प्रतिगमनका विरूद्धको त्यो विजयले गम्भीर अर्थ र महत्व राख्दछ । त्यो विजयले जनताको महान वलिदान र आन्दोलनद्वारा प्राप्त उपलब्धिहरूलाई बचाउन महत्वपूर्ण योगदान दिनेछ । तर प्रतिगमनको पराजय भएपनि त्यसको खतरा अहिले पनि विद्यमान छ । प्रतिगामी शक्तिहरुले अहिले पनि देशलाई प्रतिगमनको दिशामा लैजान योजनवद्ध प्रकारले प्रयत्न गरिरहेका छन् । उनीहरुको जोड आन्दोलनद्वारा प्राप्त उपलब्धीहरू अर्थात् संसद र संसदीय प्रणाली नै समाप्त गर्ने तर्फ लक्षित छ । उनीहरुले विभिन्न गतिविधि गरेर गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्नका लागि अभियान चलाइरहेका छन् ।
यसरी संविधानका मुख्य विषयमाथि प्रहार गरेर प्रतिगामी शक्तिहरुले देशको संविधानलाई नै असफल बनाउनका लागि लगातार प्रयत्न गरिरहेका छन् । त्यस प्रकारको अवस्थामा देशलाई अग्रगामी दिशामा बढाउनका लागि जनआन्दोलन र जनसंघर्षद्वारा संविधानमा स्थापित हुन पुगेका सकारात्मक पक्षहरुको संस्थागत विकासमा योगदान दिँदै देशलाई प्रतिगमनको दिशातर्फ लैजाने सबै खालका प्रतिगामी प्रयत्नलाई असफल पार्न एकतावद्ध भएर अगाडि बढ्नका लागि पनि हामीले नेपाली जनतासँग अपिल गर्दछौँ ।
नेपालको संविधानमा उल्लेख भएका संघीयता लगायतका कतिपय विषयप्रति हाम्रो गम्भीर मतभेद रहेको छ । नेपालको सन्दर्भमा संघीयता उपयुक्त छैन र त्यसले देशलाई विखण्डनको दिशामा लैजान्छ भन्ने हाम्रो दृढ मत रहेको छ । त्यस विषयमा हामीले संविधान निर्माण हुने क्रममा पनि मतभेद राखेका थियौँ र त्यो मतभेदको बाबजुद पनि नेपालमा संविधान जारी हुनुपर्नेमा हामीले जोड दिएका थियौँ । संविधान जारी भइसकेपछि त्यसका सकारात्मक पक्षलाई समर्थन गर्दै र संघीयताप्रति मतभेद रहेको कुरा उल्लेख गरी त्यो संविधानलाई हामीले स्वागत गरेका थियौँ ।
नेपालको संविधान जनसंघर्ष र जनआन्दोलनका उपलब्धिको रुपमा रहेकोले र संविधानमा उल्लेख भएको गणतन्त्रको संस्थागत विकास नभएको अवस्थामा हामीले त्यसको संरक्षण र संस्थागत विकास हुनुपर्ने कुरामा जोड दिँदै आएका छौँ र अहिले पनि जोड दिन चाहन्छौँ । तर त्यसका साथै जनताका आधारभूत समस्याको पूर्ण समाधान यही संविधानबाट हुन्छ भन्ने हाम्रो विश्वास छैन । त्यसरी जनताका आधारभूत समस्याका पूर्ण समाधानका लागि नयाँ जनवादी क्रान्तिबाट स्थापित भएको जनवादी व्यवस्थाअन्तर्गतको संविधानको नै आवश्यकता पर्ने छ ।
तर देशको तात्कालीन राजनीतिक आवश्यकतामाथि विचार गर्दा वर्तमान गणतन्त्रको महत्वपूर्ण अर्थ रहेको छ । जनआन्दोलन र विभिन्न जनसंघर्षका उपलब्धिको रक्षा गर्दै वर्तमान गणतन्त्रको संस्थागत विकास आजको राजनीतिक आवश्यकता बन्न गएको छ । त्यसो गर्दा एकातिर देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुका सबै प्रतिगमनकारी क्रियाकलापलाई विफल पार्नुपर्ने आवश्यकता छ भने, अर्कातिर संविधानमा उल्लेख भएका अग्रगामी पक्षलाई प्रभावकारी प्रकारले कार्यान्वयन गर्नका लागि सरकारका क्रियाकलाप, कार्यशैली र कार्यविधि जनपक्षीय र अग्रगामी हुनुपर्ने आवश्यकता । त्यसो गरेमा नै देशलाई अग्रगामी दिशामा लैजानका लागि मदत पुग्नुका साथै राष्ट्रिय सार्वभौमिकतालाई मजबुत बनाउनका लागि पनि योगदान पुग्न सक्ने छ ।
२०७८ असोज ०३ गते
मोहनविक्रम सिंह
महामन्त्री