काठमाडौं । राष्ट्रिय जनमोर्चा, जिल्ला समिति पर्साले पार्टी फुटाउन केही व्यक्तिहरुले षडयन्त्र गरिहरको भन्दै सतर्क रहन नेता कार्यकर्तासँग आग्रह गरेको छ।
प्रदेश २ मा राजमोका नाममा हालै गरिएको कथित भेला पार्टीमा फुट पार्ने षडयन्त्र भएको भन्दै त्यो षडयन्त्र सफल हुन नदिइने राजमो, पर्साले जनाएको छ ।
जिल्ला अध्यक्ष नेत्र प्रसाद पौडेलले मंगलबार प्रेसित गर्नुभएको विज्ञप्तिमा ‘अहिले गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षता गम्भीर संकटमा भएको बेला राष्ट्रिय जनमोर्चा झन बलियो बनाउनु पर्ने राष्ट्रिय आवश्यकता छ’ भन्नुभएको छ ।
वक्तव्यमा भनिएको छ, ‘मिति २०७८/५/२७ मा केही अराजक र फुटपरस्तहरुले गरेको भेला अवैधानिक छ । त्यो राष्ट्रिय जनमोर्चालाई फुटाउने षड्यन्त्र स्वरुप भएको छ । त्यसको भ्रममा नपर्न हामीले सबैसँग अनुरोध गर्दछौँ । अहिले गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षता गम्भीर संकटमा भएको बेला राष्ट्रिय जनमोर्चा झन बलियो बनाउनु पर्ने राष्ट्रिय आवश्यकता छ । यो स्थितिमा राष्ट्रिय जनमोर्चा फुटाउन खोज्नुमा गम्भीर षड्यन्त्र हुन सक्दछ । त्यसले देश, जनता र राष्ट्रिय जनमोर्चाको हित गर्दैन । सबै सतर्क हुनु पर्ने आवश्यकता छ ।