वासिङटन । अमेरिकामा अस्पताल भर्ना हुने सङ्क्रमित बालबालिकाहरूको सङ्ख्यामा वृद्धि भएको छ ।
कोरोनाबाट सङ्क्रमित भएकामध्ये अस्पताल भर्ना हुने अधिकांश बालबालिकामा डेल्टा भाइरस देखिएको अधिकारीहरूले जनाएका छन् ।
अमेरिकामा नयाँ शैक्षिक सत्र सुरु भएको केही समयमै बालबालिकामा सङ्क्रमणको असर धेरै देखिन थालेको छ । अमेरिकामा देशभरि नै डेल्टा भेरिएन्ट फैलिएको छ । चिकित्सकहरूले पनि डेल्टा भेरिएन्ट र शैक्षिकसत्रको सुरुवातका कारण धेरै बालबालिका सङ्क्रमित भएको बताएका छन् ।
अमेरिकाको केन्द्रीय स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले गत मङ्गलबार मात्रै दुई हजार ३९६ जना बालबालिका कोरोनाका कारण अस्पताल भर्ना भएको जनाएको छ । यो सङ्ख्या निकै धेरै भएको पनि अधिकारीहरूले बताएका छन् ।
अमेरिकामा कोरोना महामारी सुरु भएको समय सन् २०२० को अगस्टदेखि अहिलेसम्म कुल ५५ हजार बालबालिका कोरोनाका कारण अस्पताल भर्ना भएका छन् ।
कोरोनाका कारण मृत्यु भएका बालबालिकाको सङ्ख्यामा पनि वृद्धि हुदै गएको पाइएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म ५२० जनाको मृत्यु भइसकेको छ । (रासस÷सिन्ह्वा)