काठमाडौँ । नेपाल भ्रमणमा रहेको अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रतिनिधि मण्डल र प्रतिपक्षी नेकपा (एमाले) अध्यक्ष केपी ओलीबिच भेटवार्ता भएको छ ।
एमसिसीकी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीले एमाले अध्यक्ष ओलीसँग बालकोट पुगेर भेटवार्ता गरेको हो । सुमारसँगै एमसिसीका सहायक उपाध्यक्ष जोनाथन बु्रक्स पनि बालकोट पुगेका थिए ।
महाराजगन्जस्थित अमेरिकी दूतावासबाट सुमारसहितको टोली सिधै बालकोट पुगेर ओलीसँग वार्ता गरेको हो । सुमार नेपाल आएपछि सबैभन्दा पहिले सङ्घीय संसदमा प्रमुख प्रतिपक्षी दलका नेतासँग संवाद गरेकी हुन् ।
यो संवादबारे दुवै पक्षले केही खुलाएका छैनन् । ओलीको सचिवालयले पनि भेटवार्ता सौहार्दपूर्ण वातावरणमा भएको बताए पनि विस्तृत विवरण खुलाएको छैन ।
दुई पक्षबिच एमसिसीलाई संसदबाट पास गर्नेुपर्ने विषयमा कुरा भएको बताइएको छ । एमाले पछिल्लो समय एमसिसीबारे अनिर्णित भएको अवस्थामा फातिमासहितको टोलीले ओलीसँग पहिलो राजनीतिक भेटघाट गरेको हो ।
एमसिसी उपाध्यक्ष सुमार नेतृत्वको टोली २०७८ भदौ २३ गते बिहान काठमाडौँ आएको हो । यहाँ रहँदा सो टोलीले प्रमुख दलका नेताहरूसँग भेटघाट गर्ने र संसदबाट एमसिसी पास गर्ने वातावरण बनाउने बताइएको छ ।
