प्रेमकुमारी विक ##
आदरणीय आमा सादर नमस्कार
आमा ! कुशल छु । कुशल रही कुशलताको कामना गर्दछु ।
विशेष खासै पत्र लेख्नुको कारण त केही पनि थिएन । तैपनि आमाको माया र आमा छोरीबिचमा कुरा नभएको पनि धेरै भयो । त्यसैले यो पत्र लेख्दै छु ।
आमा ! हजुर कोमामा गएको पनि धेरै भइसके छ । ऋणको भारीले थिच्दा र छिमेकीहरूले चारैतिरबाट मिच्दा पनि तिमीमा सहन सक्ने क्षमता थियोे । तर आज आफ्नै सन्तानबिचको झगडाले गर्दा तिमीलाई कोमामा पुर्यायो है ।
उठ आमा, ब्युँझ ! हिजोको ती बम र बारुदको चर्को आवाजले बन्द भएका ती कान खोल ¤ बिनाकारण ज्यान गुमाएका र दिन–प्रतिदिन बलात्कार गरेर मारिएका सन्तानको पीडा देख्न नसकी बन्द गरेका आँखा खोल । सम्झाऊ ती ब्वासालाई ।
तिमीलाई कोमामा पुर्याएर उनीहरू त सिंहदरबारभित्र छिरिसके आमा । पाँच वर्षमा गाउँ जान्छन् र ती सोझा दाजुभाइलाई भन्छन्– हामी जे गर्दै छौँ, आमाका लागि र तिमीहरूका लागि गर्दै छौँ भनेर सोझा गाउले दाजुभाइले पनि विश्वास गरेर पटक–पटक उतै पठाउँछन् ।
आजभोलि खुब ताण्डव मच्चाउदै छन् रे भन्ने सुन्छु । अरूको त के कुरा गर्नु र आमा ? अचेल हाम्रो आफ्नै घरमा पनि झगडा छ । बासित कुरा गरूँ भनेर बाको नजिक जाँदा दाइहरू बोल्नै छाड्छ्न । दाइलाइ सम्झाऊँ भनेर दाइको नजिक जाँदा पनि दाइहरूले सुन्दैनन ।
काकाबाहरूको त के कुरा गर्नु र ? एकले अर्कोलाइ आखा तर्छन् । आमा मलाई माफ गरिदेऊ । तिमीलाइ दुखेको कुरा र तिमीभित्र लुकेको पीडा थाहा हुँदाहँुदै पनि मैले विदेशी भूमिबाट टुलुटुलु हेर्नबाहेक केही गर्न सकिनँ ।
किन रुन्छौ मेरी आमा ? अब धेरै नरोऊ । फेरि जन्माउ ती वीर सन्तानहरू, जसले तिम्रो मुहारमा मुस्कान ल्याउन र तिम्रो सुन्दर स्वरूप देख्नकै लागि आफ्नो ज्यानको बलिदान दिन सकुन् ।
हुन्छ त आमा । आफ्नो स्वास्थ्यको ख्याल गर्नू । आजलाई यो पत्रबाट बिदा चाहान्छु ।
उही तिमीलाई धेरै माया गर्ने तिम्रो प्यारी छोरी
प्रेम कुमारी विक
शान्तिनगर–४ गदुवा दाङ
हाल मलेसियाबाट