काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा हटेको छ । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आज (बिहीबार) देखि लागू हुनेगरी निषेधाज्ञा हटाएको हो ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बुधवारको बैठकपछि जारी सूचनामा निषेधाज्ञा हटाइएको जानकारी दिइएको छ । तर कोभिड–१९ को नियन्त्रणका लागि सावधानी अपनाउनुपर्ने भन्दै त्यसको पालना नगरिए कानुन बमोजिम कारबाही हुने चेतावनी प्रशासनले दिएको छ ।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अब स्थानीय तहबाट अनुमति लिएर शिक्षण संस्थाहरू समेत सञ्चालन गर्न सकिनेछ। पछिल्लो आदेशपछि कोभिड–१९ नियन्त्रणका लागि स्वयं सतर्क भएर स्वास्थ्य मापदण्डहरूको पालना गरिनुपर्ने प्रजिअ पराजुलीको भनाई छ ।
पछिल्लो आदेशमा के छ ?
काठमाडौंका प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेशमा समेटिएका बुँदा यस्ता छन् :
१) शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाइने। गर्नुपर्ने भए नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानमा रहेर स्थानीय तहहरूले सीसीएमसीसँग समन्वय गरी विद्यालय सञ्चालनको निर्णय गर्ने,
२) चाडपर्वहरू स्वास्थ्य प्रोटोकल पालना गरी न्यूनतम सहभागितामा साङ्केतिक रूपमा गर्ने,
३) अनावश्यक मानिस जम्मा हुने, भिडभाड गर्ने, सभाजुलुस गर्ने, जात्रामहोत्सव, भोज नगर्नेरनगराउने,
४) व्यक्ति, समूह तथा संस्थाबाट आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधि गर्दा नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेर गर्न पाउने,
५) स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म गर्न नपाउने,
६) सार्वजनिक तथा निजी निर्माण कार्यको लागि सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म गर्न पाउने,
७) कोभिडको लक्षण देखिएका तथा सङ्क्रमितको सम्पर्कमा परेका व्यक्तिहरूले सरकारले निःशुल्क व्यवस्था गरेको एन्टीजन तथा पीसीआर परीक्षण गराउनुपर्ने व्यवस्थाको प्रभावकारी पालना गराउने,
जिल्ला प्रशासन कार्यालयले कुनै पनि बेला अहिलेको व्यवस्था पुनरवलोकन हुनसक्ने भन्दै आदेशको उल्लङ्घन गर्नेलाई कारबाही गरिने जनाएको छ।