रवि पौडेल ##
घर छोडेर जानेहरू
कि त पैसा कमाएर फर्किन्छन्
कि त बन्द बाकसमा आउँछन्
कोही लखपति भएर आउँछन्
कोही रोडपति हुन्छन्
भने कोही वर्षांै हराएर जान्छन्
परिवारलाई तनाव बनाउँछन् ।
घर छोडेर जानेहरू
कि त अर्को घर बनाउँछन्
कि त अर्को घरमा मिसिन्छन्
घर किन किन्दैनन् ?
घर छोडेर जानेहरू
किन घर बनाउँदैनन् ?
अरूको घरमा मिसिन
किन सजिलो मान्छन् ?
घर छोडर जानेहरू
आमा र बाबुलाई
किन गाली गर्न पुग्छन् ?
आमाले खान दिनुभएन
बाबाले माया दिनुभएन भनी
किन रुन्छन् ?
जन्म र संस्कार दिएको
किन भुल्छन ?
घर छोडेर जानेहरू
किन बाबु बुढो भयो भन्छन्
घर छोडेर जानेहरू
आमाले आँखा देख्न छोड्नुभयो भनी
किन उपचार गराउन लाग्दैनन् ?
घर छोडेर जानेहरू
किन बढी स्वार्थी हुन्छन् ?
जन्मघरलाई पुरानो र बुढो भन्छन्
जन्मदातालाई किन
अपमान गर्दछन् ।
घर छोडेर जानेहरू
किन आफ्नै भाइबहिनी बैरी देख्छन् ?
घर छोडेर जानेहरू
गाउँलाई किन हेला गर्न पुग्छन् ?
घर छोडेर जानेहरूसँग
किन रिस, आवेग र कुण्ठा आउँछ ?
घर छोडेर हिड्नेले
किन बढी आरोप लाउँछ ?
घर छोडेर जानेले
घर एउटा जीवन हो भनी किन बुझ्दैन
घर छोडेर जानेले
आमाबाबु झुकाउन खोज्छन्
आफू किन झुक्दैनन् ?