काठमाडौँ । पोषण र खोपबाट १६ गुनाभन्दा बढी प्रतिफल प्रापत हुने दाबी गरिएको छ ।
दिगो विकास तथा सुशासन समितिको २०७८ भदौ १६ गतेको बैठकमा प्राडा श्यामप्रसाद लोहनीले मुलुकले पूर्वाधार क्षेत्रजस्तै स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
चिकित्सकले पोषण र खोप क्षेत्रमा गरेका लगानीबाट भविष्यमा १६ गुना भन्दाबढी प्रतिफल प्राप्त हुने जानकारी उहाँले दिनुभयो । नेपालका ५५ प्रतिशत नागरिकले स्वास्थ्यमा आफ्नो व्यक्तिगत खर्च गर्दै आएको पनि उहाँले बताउनुभयो ।
अर्कोतर्फ, स्वास्थ्य उपचारमा गरिने खर्चका कारण जनसङ्ख्याको १७ प्रतिशत मानिस गरिबीको रेखामुनि जान बाध्य हुने गरेको पनि बताइएको छ ।
समितिको बैठकमा लोहनीले विश्वमा स्थास्थ्यमा गरिने खर्चका कारण १७ प्रतिशत मानिस गरिबीको दुश्चक्रमा धकेलिने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । आर्थिक हिसाबले सम्पन्न अमेरिकालगायत मुलुकमै पनि गम्भीर खालका रोगको उपचार निकै महङ्गो भएका कारण धेरै जनताको आर्थिक अवस्था कल्पना नै गर्न नसकिने ढङ्गबाट खस्केको जानकारी दिइयो ।
स्वास्थ्य क्षेत्रमा राज्यको न्यून लगानी, जनताको कमजोर पहुँच र उपचारमा धेरै खर्च लाग्ने क्यान्सरजस्ता दीर्घरोग उपचारका कारण कतिपय नागरिक टाटपल्टेर सम्पत्तिविहीन हुनुपरेको छ ।