काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले अब कार्यकारी पदमा दाबी नगर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका वरिष्ठ नेता खनालले बाँकी जीवन राष्ट्रका लागि समर्पित गर्ने बताउनुभयो ।
भारतबाट सोमबार आफ्नो स्वास्थ्य उपचार गराएर स्वदेश फर्कनु भएका उहाँले आफूले पार्टीमा कार्यकारी पोष्टको दावी नगर्ने पनि स्पष्ट पार्नु भएको हो । पार्टी भित्र कार्यकारी पोष्टको दावी गर्ने विचार आफूले नगरेको उल्लेख गर्दै उहाँले ७० वर्ष नाघेका पार्टीका अन्य नेताहरुलाई पनि त्यसै गर्न आग्रह समेत गर्नु भयो ।
वरिष्ठ नेता खनालले भन्नु भयो, ‘म ७० वर्ष पुगिसकेका हुनाले मैले अब कुनै कार्यकारी पोष्टको दावी गर्ने विचार गरेको छैन । तर पनि पार्टीले मलाई के दिन्छ, के गर भन्छ, त्यसका लागि चाँही मैले ठाउँ राखेको छु । तर म मेरो आफ्नो तर्फबाट भने मैले कार्यकारी पोष्ट माग्ने कुनै नैतिक अधिकार छैन । किनभने पार्टीको नवौ महाधिवेशनमा ७० वर्षको मापदण्ड राख्ने मुख्य नेता म नै हुँ ।’
नेता खनालले ओलीको व्यक्तिवाद, अहंकारवाद र गुटवादलाई पार्टी भित्र परास्त गर्न गरिएको प्रयास पनि सफल नभएपछि बिद्रोह गरिएको उल्लेख गर्दै त्यो बिद्रोह नव निर्माणको निम्ति भएको पनि बताउनु भयो ।
वरिष्ठ नेता खनाललाई स्वागत गर्न विमानस्थलमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेताहरु मुकुन्द न्यौपाने, बेदुराम भुसाल, राजेन्द्र पाण्डेलगायत बिमानस्थलमा पुग्नु भएको थियो ।
भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराएर खनाल सोमबार नेपाल फर्किनुभएको हो । नेता खनाल गएको असार २ गते उपचारका लागि दिल्ली जानुभएको थियो ।
उहाँ भारतमै रहेको बेला नेकपा (एमाले) विभाजन भएको थियो । खनालले अस्पतालबाटै आफू नेपाल नेतृत्वको एकीकृत समाजवादीमा रहने भन्दै निर्वाचन आयोगमा सनाखत गराउनुभएको थियो ।