काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले दार्चुला तुइन प्रकरणको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । शुक्रबार प्रकाशित वक्तव्यमा प्रवक्ता रामप्रकाश पुरीले प्रतिवेदन सार्वजनिक गर्न र मृतक जयसिंह धामीलाई न्याय दिन माग गर्नुभएको छ ।
गत साउन १५ गते भारतीय सुरक्षाकर्मीले महाकाली नदीमा रहेको तुइन काटिदिँदा धामी वेपत्ता भएका थिए । उनको शव अझै फेला पर्न सकेको छैन।
मसालले ‘उक्त घटनामा भारतीय पक्ष दोषी भएको कुरा त्यो प्रतिवेदनमा उल्लेख भएकाले कतै भारतीय साम्राज्यवादको दबाबमा नेपाल सरकारले त्यो प्रतिवेदन सार्वजनिक गर्न हिच्किचाइरहेको त छैन भन्ने’ आशंका गरेको छ ।
वक्तव्यमा भनिएको छ, ‘दार्चुलाको तुइन प्रकरणको घटनाको छानबिन भएको प्रतिवेदन अहिलेसम्म सरकारले सार्वजनिक गरेको छैन र तुरुन्त सार्वजनिक गर्नका लागि आनाकानी गरेको देखिन्छ । छानबिन समितिले उक्त घटनामा भारतीय पक्ष दोषी भएको कुरा प्रतिवेदनमा उल्लेख भएको भनी सञ्चार माध्ययममा आएका सूचनाबाट जानकारी प्राप्त हुन्छ । त्यो जे भए पनि उक्त प्रतिवेदन सरकारले सार्वजनिक गर्नुपर्दछ । उक्त घटनामा भारतीय पक्ष दोषी भएको कुरा त्यो प्रतिवेदनमा उल्लेख भएकाले कतै भारतीय साम्राज्यवादको दबाबमा नेपाल सरकारले त्यो प्रतिवेदन सार्वजनिक गर्न हिच्किचाइरहेको त छैन भन्ने गम्भीर प्रश्न खडा हुन्छ । त्यसैले छिटोभन्दा छिटो त्यो प्रतिवेदन सार्वजनिक गर्नका लागि हामीले सरकारसँग माग गर्दछौँ र उक्त घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउनका लागि भारतीय पक्षसँग उच्च कूटनीतिक वार्ता समेत अगाडि बढाउनुपर्नेमा हामीले नेपाल सरकारको ध्यान आकर्षित गर्दछौँ ।’
यो पनिः ‘धनञ्जयले स्थापित गरेको ‘हाँक’ मसालविरुद्ध घृणा फैलाउन फोहोरी सामग्री बनाइयो’