जलेश्वर । विगत दुई दिनदेखि मुसलेधार पानी परेपछि महोत्तरीमाका आधा दर्जनभन्दा बढी नदीखोलामा बाढी आएको छ ।
बुधबार बिहानदेखि नै लगातारको भिषण वर्षासँगै जिल्लाका रातो, विग्ही, जङ्घा, अङ्कुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन र मरहालगायतका नदीमा बाढी आएको हो ।
अविरल वर्षासँगै जिल्लाका सबै नदीमा बाढी आएको छ भने जिल्लाका धेरैजसो ठाउँमा बाढी पस्ने खतरा बढेको स्थानीयवासी बताउँछन् । नदीमा आएको बाढीपछि जिल्लाका नदी छेउछाउका दुई दर्जन बढी गाउँका बासिन्दा त्रसित भएका छन् । उनीहरू बाढीका बेला हुनसक्ने क्षति विरुद्ध सतर्कता अपनाउनमा जुटेका छन् ।
वर्षायाममा महोत्तरीका धेरैजसो भाग डुबानमा पर्ने गरेका तथा बाढीले सयौँलाई विस्थापित बनाउँदै आएको कुरालाई मध्यनजर गर्दै स्थानीयवासीले नदीमा आएको बाढीलाई देखेर सुरक्षाका व्यवस्थाको जोहो गर्न थालेका छन् । विभिन्न नदीमा आएको बाढीको खबरले जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायसहित (जिल्ला दैविक प्रकोप उद्धार समिति) लगायत विभिन्न जिम्मेवार निकाय पनि उच्च रूपमा सतर्क भएको जनाइएको छ । (रासस)