शङ्करप्रसाद पोख्रेल, खलङ्गा ।
लुम्बिनी प्रदेशअन्तर्गत प्युठान जिल्लाको झिमरुक गाउँपालिका प्रदेशमै उत्कृष्ट ठहरिएको छ । महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदनअनुसार झिमरुक गाउँपालिका कम बेरुजु हुनेमा परी उत्कृष्टता स्थान हासिल गरेको हो ।
लुम्बिनी प्रदेशकै पहिलो नम्बरमा बेरुजु कम गर्ने गाउँपालिकामा झिमरुक गाउँपालिका परेको छ । कम बेरुजु गरेर झिमरुक गाउँपालिका देशभरमै सातौँ नम्बरमा परेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार झिमरुकको बेरुजु प्रतिशत ०.१३ मात्र छ ।
गाउँपालिकामा ८५ करोड १३ लाख ६ हजार रुपियाँको लेखापरीक्षण गरिएकोमा १३ लाख १० हजार रुपियाँ मात्र बेरुजु देखिएको छ । तर, उक्त बेरुजु पेस्की बेरुजुअन्तर्गत हो, जो फस्र्यौट भइसकेको छ । यस आधारमा गाउँपालिकाले बेरुजुशून्य भएको दाबी गरेको छ ।
देशभर ७ सय ५३ वटा स्थानीय तह छन् । त्यसमध्ये चार सय ६० गाउँपालिका, दुई सय ७६ नगरपालिका, ११ उपमहानगरपालिका र छ महानगरपालिकासहित लुम्बिनी प्रदेशका १०९ स्थानीय तहलाई उछिन्दै झिमरुक कम बेरुजु हुने गाउँपालिकामा परेको हो ।
झिमरुकको बेरुजु देखिएको १३ लाख १० हजार सङ्घीय सरकारले पठाएको सशर्तअन्तर्गत विद्यालयमा वितरण गर्ने सेनेटरी प्याड खरिद गरेको हो । गाउँपालिकाका नायव सुब्वा निमप्रसाद भण्डारीका अनुसार गाउँपालिकाले सेनेटरी प्याड खरिद गरिसकेको थियो ।
कोरोनाका कारण विद्यालय बन्द भएपछि वितरण हुन मात्र बाँकी रहेकाले झिमरुक गाउँपालिकाको बेरुजुशून्य भएको नायब सुव्वा भण्डारीको दाबी छ । कर्मचारी र जनप्रतिनिधिको काम, कर्तव्य र अधिकारबारे प्रष्ट भएमा स्थानीयतहको कार्यसम्पादनमा समस्या नहुने झिमरुक गाउँपालिका अध्यक्ष तिलक जिसी बताउँछन् ।
कहिलेकाहिँ काम, कर्तव्य र अधिकार नबुझ्दा समस्या हुने गरेकाले समस्या आउन सक्ने भएकाले त्यसप्रति सचेत हुँदै झिमरुक गाउँपालिकालाई नमुना बनाउने अभियान जारी रहेको अध्यक्ष जिसीको भनाइ छ ।
त्यस्तै, असल कर्मचारी, जनप्रतिनिधि र सरोकारवालाको साथले बेरुजु कम हुने सूचीमा परिएको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालको भनाइ छ । झिमरुकको यो बेरुजु व्यवहारमा शून्यजस्तै भएको भुसाल बताउँछन् ।
