काठमाडौं । प्रस्तावित नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेको विचार, दृष्टिकोण, विधि र पद्धतिलाई जोगाइराख्न नयाँ पार्टी गठन गर्नुपरेको स्पष्ट पार्नुभएको छ ।
पार्टी पंक्तिका नाममा एक अपिल जारी गर्दै अध्यक्ष नेपालले ओलीले पार्टी एकताको पक्षमा रहेको भान पार्न अनेक चालबाजी र नाटक गरे पनि एकता अगाडि बढ्न नचाहेको बताउनुभएको छ । उहाँले एमालेबाट विद्रोह गर्न नेता कार्यकर्तालाई अपिल पनि गर्नुभएको छ ।
अध्यक्ष नेपालले नेकपा (एमाले) ले स्थापित गरेको विचारको विविधतालाई आत्मसात गर्ने दृष्टिकोण, विधि र पद्धतिमा चल्ने कार्यप्रणाली तथा जनपक्षीय आचरणलाई बचाइराख्न आफ्नो चाहना भएको पनि अपिलमा उल्लेख गर्नुभएको छ ।
नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने उदेश्यले नयाँ पार्टी गठन गर्नुपरेको उहाँको भनाई छ । ओलीकै कारण कम्युनिस्ट आन्दोलन विसर्जनतर्फ जाने खतरा बढेकाले आफूहरुले नयाँ पार्टी खोल्नुपरेको नेपालको स्पष्टीकरण छ ।
यो पनिः माधव नेपालको टिम चन्द्रागिरिमा, कार्यदलका सदस्य ओलीको जालझेलमा परे : नेपाल
‘नेकपा (एमाले) को पुनर्गठन एवम् रूपान्तरण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले विकल्पको बाटो रोज्नुपर्ने बाध्यकारी अबस्था सिर्जना भएको छ,’ अध्यक्ष नेपालको अपिलपत्रमा उल्लेख छ, ‘कम्युनिस्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउनका निम्ति हामीले कठोर कदम चाल्नुपर्ने स्थिति उत्पन्न भएको छ । नेकपा (एमाले) को पुनर्गठन एवम् रूपान्तरण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले विकल्पको बाटो रोज्नुपर्ने बाध्यकारी अबस्था सिर्जना भएको छ।’
नेपालले आफूहरुले पार्टी एकता जोगाउन निरन्तर रूपमा प्रयत्न गरेको भएता पनि ओलीले कुनै हालतमा पनि एकता गर्न नचाहेपछि एकता कायम रहन नसक्ने स्थिति उत्पन्न भएको स्पष्ट पार्नुभएको छ ।
यस्तो छ अपिल