काठमाडौँ । प्रस्तावित नेकपा (एकीकृत–समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल आफ्नो टिमसहित चन्द्रागिरि रिसोर्ट पुग्नुभएको छ । नयाँ पार्टी बनाउन हस्ताक्षर गरेका एमालेका ५८ जना नेतालाई चन्द्रागिरी रिसोर्टमा बोलाइएको हो ।
चन्द्रागिरि रिसोर्टमा माधव पक्षीय नेताहरूका लागि रिसोर्टमा करिब एक सय बेड बुक गरिएको छ । नेपालसहित उहाँ पक्षीय सबै नेताहरू २०७८ भदौ ८ गते दिनभर त्यही बस्ने छन् । नेता नेपाल पुगेसँगै भदौ ७ साँझ एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बसेको छ ।
‘कार्यदलका सदस्य ओलीको जालझेलमा परे’
केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीसँग वार्ता गर्न बनेको कार्यदलका सदस्य उनकै जालझेलमा परेको बताउनुभयो । अध्यक्ष नेपालले आफूहरूको दल दर्ता रोक्नका लागि ओलीसँगै कार्यदलका सदस्य पनि लागिपरेको दाबी गर्नुभयो ।
‘हामी निर्णायक मोडमा पुग्दा हाम्रै भनिएका साथीहरूले दुई दिन रोकौँ भन्दै हामीलाई पछि पार्दै गए’ नेपालले भन्नुभयो– ‘यसपालि पनि उनीहरू ओलीको जालझेलमा फसेका छन्, उनीहरूका ‘बा’ के के कुरा मान्न तयार भएका रहेछन् एकदुई दिनमै देखिन्छ ।’
नेता रामकुमारी झाँक्रीका अनुसार राजनीतिक दस्तावेज र अन्तरिम विधान नेताहरूलाई सोमबारै वितरण गरिने छ । भदौ ८ गते पार्टीको विधान र राजनीतिक दस्तावेजबारे छलफल हुने छ ।
नेपाल नेतृत्वको नेकपा (एकीकृत–समाजवादी) दल भदौ ९ गते निर्वाचन आयोगमा दर्ता हुँदै छ । यता, उहाँकै पक्षका स्थायी कमिटी सदस्यले भने भदौ ७ गते एमालेमै बस्ने गरी अध्यक्ष केपी शर्मा ओलीसँग सहमति जुटाएका छन् ।





