जाकार्ता । इन्डोनेसियाका पूर्वमन्त्री जुलिआरी बटुबारालाई १२ वर्ष जेल सजायको फैसला सुनाइएको छ ।
कोरोना महामारीका बेलामा गरिब परिवारका बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउने कार्यक्रममा अनियमितता गरेको ठहर गर्दै जेल सजाय तोकिएको हो ।
पूर्व सामाजिक मामिलामन्त्री बटुबारालाई जाकार्ता अदालतले दोषी रहेको पर्याप्त प्रमाण र आधार रहेको जनाएको छ । अनियमितताको आशङ्का र आरोप लागेपछि स्थलगत निरीक्षण गर्दा उहाँले अनियमितता नै गरेको भेटेपछि गत डिसेम्बरमा पक्राउ गरिएको थियो ।
उहाँलाई जेल सजायसँगै ३५ हजार अमेरिकी डलर बराबरको जरिवाना तिराउनसमेत अदालतले आदेश दिएको छ ।
राष्ट्रपति जोको विडोडोले पनि जनताको रकमको दुरूपयोग गर्नेलाई बचाउन र समर्थन गर्न नसकिने बताउनुभएको छ ।
इन्डोनेसियामा भ्रष्टाचार ठुलो समस्याका रूपमा रहेको छ । धेरै राजनीतिक नेताहरू अनियमिततासम्बन्धी घटनामा मुछिने गरेका छन् । त्यसैगरी दण्डसाजय पनि धेरैलाई हुने गरेको छ ।
यसअघि अर्का मन्त्रीलाई पनि भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहरिएपछि पाँच वर्षका लागि जेल सजाय तोकिएको थियो । (रासस/एएफपी)