काठमाडौँ । गत साउन महिनामा १४२ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले भदौ ७ गते सार्वजनिक गरेको मासिक विश्लेषण प्रतिवेदनअनुुसार १०८ महिला र ३४ पुरुषमाथि मानव अधिकार उल्लङ्घनका घटना भएका हुन् ।
इन्सेकले गरेको अध्ययनअनुसार राज्यपक्षबाट चार र अन्य पक्षबाट १३८ पीडित भएका छन् । त्यसमध्ये प्रदेश नं. १ मा २५, प्रदेश नं. २ मा ४९, लुम्बिनी प्रदेशमा १९, गण्डकी प्रदेशमा १७, कर्णाली प्रदेशमा १५, बागमती प्रदेश र सुदूर पश्चिम प्रदेशमा छ÷छ जना पीडित भएका छन् ।
साउनमा पत्नीहत्याका नौ, परिवारजनबाट हत्याका चार, बलात्कारपछि हत्याको एक, हिरासतमा मृत्युका दुई, एक मानवअधिकार रक्षकसहित नौ जनालाई कुटपिट गरिएको, जातीय विभेदका घटना तीन, पुरुषलाई गरिएको यौन दुव्र्यवहारको घटनामा एक र १५ घाइते भएको प्रतिवेदनमा उल्लेख छ ।
तीमध्ये बालअधिकार उल्लङ्घनका घटना ५१ भएको प्रवितेदनमा छ । अभिलेखित घटनामध्ये बलात्कार ३९, यौन दुव्र्यवहार १०, बेचबिखन एक र बेचबिखन प्रयासको घटना एक भएको इन्सेकले जनाएको छ ।
त्यस्तै महिला अधिकार उल्लङ्घनका घटना ३९ भएको अध्ययनले देखाएको छ । बलात्कारका घटना २०, बलात्कार प्रयास पाँच, यौन दुव्र्यवहार तीन, जबर्जस्ती यौन कार्यमा लगाइएको एक, एसिड प्रहार एक, बोक्सी आरोप एक र घरेलु हिंसा तीन भएको इन्सेकको उक्त प्रतिवेदनमा उल्लेख छ ।