वासिङटन । अमेरिकाको बाइडेन सरकारले चीनका लागि नयाँ राजदूत नियुक्त गरेको छ ।
राष्ट्रपति जो बाइडेनले निकोलास बुर्नसलाई चीनका लागि राजदूतको जिम्मेवारी दिनुभएको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले शुक्रबार जनाएको छ ।
अहिले ६५ वर्षको उमेरमा पुग्नुभएका निकोलास हावर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध विषयका प्राध्यापक हुनुुहन्छ । उहाँलाई अमेरिकाको वरिष्ठ कूटनीतिज्ञ मानिनुहुन्छ ।
उहाँले यसअघि कूटनीतिक सरकारी अधिकारीको रूपमा झन्डै २७ वर्ष सेवा गर्नुभएको थियो । सरकारको वर्गीकरणमा उहाँ विदेश मन्त्रालयको तेस्रो उच्च तहमा हुनुहुन्थ्यो ।
निकोलस २००१ देखि २००५ सम्ममा नेटोका लागि राजदूत हुनुभएको थियो । त्योभन्दा अगाडि ग्रिसका लागि राजदूत हुनुभएको थियो भने त्यसका साथै विदेश मन्त्रालयको प्रवक्तासमेत हुनुभएको थियो ।
त्यसैगरी, जर्ज एचडब्लु बुस र विल क्लिन्टन राष्ट्रपति भएका बेला राष्ट्रपति कार्यालयको राष्ट्रिय सुरक्षा परिषद्समेतमा उहाँले काम गर्नुभएको थियो । (रासस/सिन्हवा)