काठमाडौँ । रक्तिम सांस्कृतिक अभियान काठमाडौँ जिल्ला समितिले तिजी भिडियो एल्बम “उडेको पन्छी” सार्वजनिक गरेको छ ।
आश्रम म्युजिम प्रालिको तर्फबाट २०७८ भदौ ४ गते सो एल्बम सार्वजनिक गरिएको हो ।
रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव हेमराज पुनको शब्द, परिकल्पना र निर्देशनमा तयार पारिएको सो एल्बमको मुख्य भूमिका क्रिस्टिना राई, मधु क्षेत्री, सुनिल तामाङ, पियारी थापा र मेस्मा पुन रहनुभएको छ ।
घरमा उत्पीडन बेहोरिरहेकी बुहारीद्वारा तिजको अवसरमा माइतको स्मरण मूल कथावस्तु रहेको उक्त एल्बममा स्वर पियारी थापा र मेस्मा पुनको रहेको छ भने उहाँहरूको नै नृत्यमा मुख्य भूमिका दिइएको छ ।
समूह गायनको रूपमा एल्बममा सुनिता कार्की र कविता चौधरीले साथ दिनुभएको छ ।
पियारी थापा र रोसन थापाले नृत्य निर्देशनमा तयार भएको सो एल्बमले उत्पीडनका विरुद्ध लड्ने सन्देश प्रवाह गरेको छ ।
एल्बमको सारवाक्य यस्तो छ–
“नरुनू नारीचेली हो
लडेर हक ल्याउनी हो ।”