काठमाडौं । प्रदेश २ सरकारले आसेपासे र पहुँचवालालाई करोडौं रकम बाँडेको छ । आर्थिक सहायताको नाममा असहाय, विपन्न तथा अशक्तलाई दिनुपर्ने सहायता सम्पन्न र पहुँचवालालाई बाँडिएको हो ।
आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी निर्देशिका, २०७६ विपरीत आर्थिक रुपले सम्पन्न, पहुँचवाला तथा आसेपासेलाई मुख्यमन्त्री राहत कोषबाट लाखौं रुपैयाँ बाँडिएको छ । यसरी रकम पाउनेमा मन्त्री, सांसद, व्यापारीदेखि मुख्यमन्त्री लालबाबु राउतका आसेपासेसमेत छन् ।
सरकारले आर्थिक रुपले सम्पन्न पूर्वराज्यमन्त्री डिम्पल झालाई उपचारका लागि भन्दै १७ लाख रुपैयाँ दिएको छ । पूर्वभौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा जसपा महन्त पक्षका नेता अनिल झाकी पत्नी हुन् । पालैपालो मन्त्री बन्दै आएका डिम्पल र अनिल सम्पन्न परिवारका व्यक्तिहरू हुन् ।
यस्तै, सिरहा क्षेत्र नं. ३ (क) बाट निर्वाचित नेकपा माओवादी केन्द्रका प्रदेश सांसद रामकुमार यादवलाई उपचार खर्चको नाममा ५ लाख रुपैयाँ प्रदान गरिएको छ भने कांग्रेसका सांसद शिवचन्द्र प्रसाद चौधरीलाई ४ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइएको छ।
यसैगरी, जनता समाजवादी पार्टीका सांसद अशोक कुमार यादवलाई उपचारको नाममा २ लाख रुपैयाँ प्रदान गरिएको छ । उनी प्रदेश मामिला संसदीय समितिका सभापति समेत छन् । त्यस्तै जसपाकै सांसद भिमा यादवलाई १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइएको छ । उनी पर्साकी समानुपातिक सांसद हुन्। त्यसै गरी जसपाका सांसद करिमा बेगमलाई उपचार खर्चकै नाममा १ लाख रुपैयाँ, नेकपा एमालेकी सांसद जगतारेन देवी सुडी ९२ हजार २५० रुपैयाँ उपलब्ध गराइएको तथ्यांकमा उल्लेख छ ।
मुख्यमन्त्री राउतले विभिन्न मेला, सभासम्मेलन, गोष्ठी, सेमिनार, खेलकुद, पूजाआजा, तालिमका, फारम संचालन, डेरी उद्योग संचालन लगायतको नाममा विभिन्न आफ्ना पार्टी निकटका संगठनलाई आ.व.२०७६।०७७ मा तीन करोडभन्दा बढी रुपैयाँ र २०७७।०७८ मा समाजिक संघसंस्थाहरूलाई ५० लाख बढी बाँडेको तथ्यांकमा उल्लेख छ ।
मुख्यमन्त्री कार्यालयले उपलब्ध गराएको आर्थिक सहायता प्रदान तथ्यांकमा २०७७।०७७८ तथ्यांकमा नेपाल चलचित्र निर्माण संघलाई तीन दिवसीय अन्तरक्रियाको लागि ५ लाख, वातावरण उत्थान समाज धनुषालाई कार्यक्रम संचालनको लागि ५ लाख, दलित पिछडा वर्ग विकास केन्द्र वगडा ६ महोत्तरीलाई सीपमूलक तालिम, गोष्ठी तथा कार्यक्रम संचालनको लागि ५ लाख, महोत्तरी युवा सञ्जाललाई ५ लाख, विन्दादेवी समाज नेपाल मनरा शिशवा २ महोत्तरीलाई सीपमूलक तालिमको लागि ५ लाख, मूलधार महिला विकास केन्द्र उदयपुर गाइघाटलाई राष्ट्रिय बेटी सम्मेलन २०७६ आयोजना गरेकोमा ३ लाख उपलब्ध गराएको छ।
यस्तै इनभाइट इन नेपाल जनकपुरलाई तालिम गोष्ठीको लागि ५ लाख, मा नागेश्वरी विकास संस्था मनराशिशवा २ महोत्तरीलाई तालिम गोष्ठीको लागि ५ लाख, जय बाबा पशुपालन फार्म मनरा शिशवा २ महोत्तरीलाई ५ लाख, पर्सागढी युवा स्पोर्टलाई ३ लाख, नेपाल पत्रकार महासंघ प्रदेश २ कार्यसमितिलाई प्रदेश अधिवेशनको लागि ५ लाख प्रदान गरेको छ।
आ।व।२०७६।०७७ मा विभिन्न संघसंस्थालाई सभा सम्मेलन, सेमिनार लगायतको शीर्षकमा आर्थिक सहयोग गरेको तथ्यांकमा उल्लेख छ। तथ्यांक अनुसार सबभन्दा बढी विवा हपञ्चमी महोत्सवको लागि जानकी मन्दिरलाई दुईपटक गरी ६० लाख रुपैयाँ उपलब्ध गराएको छ। नेपाल चलचित्र निर्माण संघलाई १० लाख, हिन्दी सम्मेलनको लागि १० लाख, तराई राष्ट्रिय प्रतिष्ठान काठमाडौंलाई १० लाख, गढीमाइ मेलाको लागि मुख्यमन्त्री कार्यालयबाट १० र उद्योग मन्त्रालयबाट ८ गरी १८ लाख प्रदान गरिएको छ।
त्यस्तै सेभ द हिस्टोरिकल जनकपुरलाई ५ लाख, फार्म सञ्चालनको लागि एकीकृत कृषि तथा पशुपालन फार्मका लागि ५ लाख, कलाकार रविराज साहलाई लोक संस्कृति जगेर्ना गरे बापत ५ लाख, युनाइटेड क्रिकेट क्लब नारायणी क्रिकेट रंगशालालाई ५ लाख, महोदर ठाकुर ब्रह्मस्थान व्यवस्थापक समिति महोत्तरी गापालाई २ लाख ५ लाख रुपैयाँ बाँडेको छ।
यसैगरी, समाजिक जनचेतना अभियान नेपाल महोत्तरीलाई ५ लाख, राजर्षि जनक सामुदायिक विकास समिति कनकपट्टी जनकपुरलाई ५ लाख, राजर्षि उपभोक्ता सहकारी संस्था कनकपट्टी जनकपुरलाई ५ लाख, दलित महिला उत्थान केन्द्र महोत्तरी गापा ३ लाई ५ हजार, राजदेवी डेरी उद्योग सञ्चालनको लागि औरही गापा २ महोत्तरीलाई ५ लाख उपलब्ध गराएको छ।
यस्तै पर्सा गढी युवा स्पोर्ट क्लब, पर्सागढी ३ लाई ३ लाख, विजय लक्ष्मी मिडिया फाउन्डेसन र सोच नेपाल सुखिपुर नगरपालिकालाई ३ लाख, सामुहिक विवाह मणिमण्डपको लागि ३ लाख, शिवरात्री मेला महोत्सव लालेश्वरनाथ महादेव सप्तरी छिन्नमस्ता गाउँपालिका–४ लाई २ लाख रकम उपलब्ध गराएको विवरणमा उल्लेख छ।