काठमाडौं । सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी माओवादीले केपी ओली नेतृत्वको नेकपा (एमाले) दक्षिणपन्थी भएको निष्कर्ष निकालेको छ । करिब तीन वर्षअघि ओलीको नेतृत्वमा पार्टी एकता गरेको माओवादीले अदालतको आदेशबाट हालै अलग भएपछि ओलीलाई दक्षिणपन्थी ठहर गरेको हो ।
शनिबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा आठ पेज लामो राजनीतिक र संगठनात्मक प्रस्ताव पेश गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीको दक्षिणपन्थी समूहले कम्युनिष्ट पार्टीको नेतृत्व अघि बढाउन नसक्ने बताउनुभयो । ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेयता माओवादी समूहले नै लिएको पहलकदमीबाट देशले प्रतिगमनलाई पराजित गर्न सफल भएको उहाँको तर्क छ ।
उहाँले नेकपा विघटन भइसकेको अवस्थामा तत्कालै अन्य शक्तिसँग एकता सम्भव नभएको निचोड पनि निकाल्नुभएको छ । अन्य पार्टीसँग एकता हुन नसके पनि अहिले कायम रहेको वाम–लोकतान्त्रिक गठबन्धनलाई बचाएर आगामी निर्वाचनमा लाग्नुपर्ने पनि प्रचण्डको भनाई छ ।
आफ्नै कमजोरीले पनि माओवादी कमजोर हुन पुगेको प्रचण्डको स्वीकारोक्ति छ । प्रचण्डले प्रदेशमा आफ्ना सरकार बन्नुलाई उपलब्धी र जनयुद्धमा योगदान गरेकाहरुलाई पार्टीले बेवास्ता गरेको पनि स्वीकार गर्नुभएको छ ।
‘प्रतिक्रियावादीले सहिद परिवार, घाइते र अन्य पीडितहरुलाई हामीविरुद्ध प्रयोग गर्न खोजेका थिए। त्यसविरुद्ध पनि हामीले अभियान थालेरै राजनीतिक पहलकदमी लिन सकेका छौँ’ उहाँले भन्नुभयो, ‘ओलीलाई सत्ताबाट ओरालेपछि हामी संघदेखि प्रदेशमा पनि बलियो भएका छौँ। तीनवटा प्रदेशमा अब हाम्रै सरकार रहेका छन् ।’
उहाँले अझै पनि प्रतिगमन पूरै नसच्चिएको तर्क गर्नुभयो । ‘हाम्रो शक्ति फर्किँदैछ । तर प्रतिगमन अझै पनि परास्त भएको छैन। अझै पनि प्रतिगामीहरुले परिवर्तन उल्ट्याउने प्रयास गर्दैछन्’ उहाँले भन्नुभयो ।
