काठमाडौँ । नेकपा (एमाले) की सांसद निरुदेवी पालले एमसिसी मान्य नहुने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उहाँले विकासका नाममा बाह्य शक्तिको हस्तक्षेप कुनै हालतमा सह्य नहुने बताउनुभयो ।
उहाँले प्रश्न गर्नुभयो– ‘एमसिसीजस्तो राष्ट्रघाती सम्झौताका लागि राष्ट्रिय सहमति गर्नुपर्ने आवश्यकता किन आइलाग्यो सभामुख महोदय ?
एमसिसीले तयार पारेको प्रस्तावनामा तयार पारेको उल्लेखित अवधारणामा नेपाल सरकारले छलफल गर्न, व्यवस्था बुझ्न र स्पष्टिकरण सोध्न समेत पाउने छैन । एमसिसी सम्झौतामा भएको कानुन नेपालको संविधानसँग बाँझिएको खण्डमा स्वतः नेपालको संविधानमा उल्लेखित कानुन लागु हुनुपर्ने होइन र ?’
सांसद पालले नेपालको कानुनभन्दा एमसिसी माथि रहेकाले विकासका नाममा बाह्य हस्तक्षेप स्वीकार्य नहुने भन्दै खारेज गर्न माग गर्नुभयो ।
‘दुवै कानुन बाझिएको खण्डमा एमसिसीमा उल्लेखित कानुन लागु हुने भनिएको छ । एमसिसी परियोजनाका लागि मागिएको भूभाग र स्रोत अर्को कुरा गर्न नपाउने गरी कानुनी रूपमा हस्तान्तरण गर्न भनिएको छ । यदि एमसिसी सदनबाट पारित भएको खण्डमा नेपाल सरकारले यसबारे कुनै जानकारी लिन चाहेमा एमसिसीबाट अनुमति लिनुपर्ने छ’ पालले भन्नुभयो– ‘यिनै आधारहरु काफी छैनन् र सभामुख महोदय एमसिसी खारेज गर्नका लागि ? विकासका नाममा बाह्य शक्तिको हस्तक्षेप कुनै हालतमा सह्य हुने छैन ।’