काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आज (बुधबार) देखि पुनः सोही जिम्मेवारी सम्हाल्नुहुने भएको छ । यसअघि ४ वर्षे कार्यकाल पूरा गरी बिदा भएका घिसिङलाई देउवा सरकारले प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्ति दिएको उच्च स्रोतले जनाएको छ ।
ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सोमबार मन्त्रिपरिषद् बैठकमा पेस गरेको प्रस्तावअनुसार सरकारले उहाँलाई पुनःनियुक्ति दिएको हो ।
मन्त्री भुसालकै प्रस्तावअनुसार यसअघिका प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाइएको छ । शाक्यले प्राधिकरणबाट हिजो मंगलबारबाट बिदा लिइसक्नु भएको छ ।
घिसिङको आगमनपछि विद्युतका आम उपभोक्ता उत्साहित भएका छन् । कतिपय स्थानमा खुसियालीमा दीपावलीसमेत गरिएको छ ।
यसअघिको कार्यकालमा घिसिङले नै लोडसेडिङ समस्या सधैँका लागि अन्त्य गरी घाटामा रहेको प्राधिकरणलाई नाफा गर्न सक्ने अवस्थामा पुर्याउनुभएको थियो ।





