काठमाडौं । नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले कसैको सामु शिर ननिहुराउने बताउनुभएको छ ।
मंगलबार अनेरास्ववियु केन्द्रीय कमिटीले सामुदायिक विद्यालयमा अध्ययनरत आशिक झाले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबीबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट अंक हासिल गरेको सन्दर्भमा गरेको सम्मान कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले कसैको टाङमुनि नछिर्ने पनि स्पष्ट पार्नुभयो ।
आफुहरु दृढताका साथ अगाडि बढ्ने उहाँको भनाई छ । उहाँले दम्भ र अहंकारका साथ गलत ढंगले चल्नेहरुलाई चुनौती दिएर आफूहरु अगाडि बढ्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी अगाडि बढ्छौँ दृढताका साथ । शिर निहुराउने छैनौँ । कसैको टाङमुनि छिर्ने छैनौँ । अध्यारो सुरुङमा जानेवाला छैनौँ । दम्भि, अहंकारी र गलत ढंगले चल्नेहरुलाई चुनौती दिएर नै तिनलाई माथ गरेर नै अगाडी बढ्नेछौँ ।’
नेता नेपालले कर्णाली प्रदेश सभा सदस्यको पद गुमाएका आफ्नो पक्षका नेताहरुलाई पुनः जिताएर ल्याउने प्रतिवद्धता पनि गर्नुभएको छ । नेपालले कर्णालीका आफू पक्षीय नेताहरूले गलत कुराको विरुद्धमा उठ्ने आँट गरेको भन्दै यदि उपनिर्वाचन भएमा नेताहरूलाई जिताएर ल्याउने आफ्नो जिम्मेवारी भएको बताउनुभयो ।
उहाँले कर्णालीका नेताहरूको साथमा आफू रहेको भन्दै दृढताका साथ अगाडि बढ्न पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘बडो हिम्मतका साथ, साहसका साथ गलत कुराका विरुद्धमा उठ्ने आँट गर्नुभयो । उहाँहरूको प्रदेश सभाको सदस्यता धरापमा छ । र मैले भनिसकेको छु, तपाईहरुको सदस्यता धरापमा छ भने यदी तपाइहरुको सदस्यता खारेज भयो भने अनि उपनिर्वाचन भयो भने तपाईहरूलाई जिताएर ल्याउने जिम्मेवारी मेरो हुनेछ । त्यसो हुनाले तपाईंहरु दृढताका साथ अगाडि बढ्नुस् । हामी साथमा छौँ ।’