काठमाडौँ । जनता–समाजवादी दलको अध्यक्ष रहेका महन्थ ठाकुरको अध्यक्षको पद गएको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि पठाइएको अभिलेख अद्यावधिक गरेसँगै महन्थ ठाकुरको अध्यक्ष पद पनि गुमेको छ ।
जसपाको आधिकारिकता पाएको यादव पक्षले कार्यकारिणी समिति बैठकको निर्णय विवरण आयोगमा पठाएको थियो । त्यसलाई अभिलेखीकरण गरिएको पुष्टि आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभएको छ ।
आयोगले जसपामा ३५ सदस्यीय नयाँ कार्यकारिणी समितिलाई अद्यावधिक गरेपछि अब ठाकुर समूहले अर्को विकल्प खोज्नुपर्ने भएको छ ।
जसपाको आधिकारिकतालाई लिएर ठाकुर समूह सर्वोच्च समेत गएको थियो । तर सर्वोच्चले पनि आयोगकै निर्णयलाई अघि बढाएपछि ठाकुर समूह पार्टीविहीन भएको हो । यससँगै अब महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष आजदेखि कानुनी रूपमै जसपाबाट बाहिरिएको छ ।
अहिले ठाकुर–महतो पक्ष नयाँ पार्टी निर्माणका लागि तराईका विभिन्न जिल्लामा भेलाका कार्यक्रम गरिरहेको छ ।